| सोमवार, कार्तिक २३, २०८३

हिंसा गरे रु. डेढलाख जरिबाना, सुराकीलाई १५ हजार इनाम

गाउँलाई हिंसामुक्त गराउन चुमनुब्री गाउँपालिकाको एउटा वडाले जरिबाना र इनामको ब्यबस्था गरेको छ । साबिक प्रोक गाविसमा पर्ने चुमनुब्री ४ ले हिंसा गर्नेलाई एकलाख ५० हजार रुपैंया जरिबाना गर्ने निर्णय गरेको हो ।

केहीदिनअघि बसेको वडाको बैठकले वडा नं. ४ लाई अहिंसा गाउँ बनाउन सर्बसम्मत निर्णय गरेको वडा अध्यक्ष पेमाडुण्डुप लामाले बताए । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, बेच्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैंया जरिबाना हुनेछ’, निर्णय सुनाउँदै उनले भने, ‘काटमारको घटना बारे हामीलाई सूचना दिनेलाई १५ हजार रुपैंया इनाम दिने पनि निर्णय भएको छ ।’ जरिबाना बापत संकलित रकमलाई अहिंसा अभियानमा नै खर्च गरिने उनले बताए ।


आफ्नो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले पशुचौपाया किनबेच नगर्न छिमेकी वडाहरुमा समेत पत्राचार गरेको उनले बताए । ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपंक्षी किनबेच हुदैन ।

छिमेकी वडाले पनि यसको देखासिकी गरुन् भनेर पत्राचार गरेका छौं’, वडा अध्यक्ष लामाले भने, ‘निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीसित पनि हामीले समन्वय गरेका छौं ।’

आफ्नो वडाले बनाएको नियमको जहाँतहीँ प्रसंसा भएको उनले बताए । चुमनुब्री गाउँपालिकाको वडा नं. १ को साविक सामागाउँ, वडा नं. २ को साबिक ल्हो गाविस, वडा नं. ४ को साबिक प्रोक गाविस, वडा नं. ५ को साबिक बिही गाविस, वडा नं. ६ को साबिक चुम्चेत गाविस र वडा नं. ७ को साविक छेकम्पार गाविस बिगतदेखि नै काटमार निषेधित क्षेत्रको रुपमा रहेको छ । ती गाउँहरुमा एकाध इशाइ बाहेक सबै वुद्ध धर्मालम्बीहरु बसोबास गर्छन् ।


पछिल्लो समय बाहिरि गाउँका ब्यबसायी आएर लुकीछिपि काटमार गर्न थालेपछि नियम बनाउनु परेको नाम्रुङका लाक्पाडुण्डुप लामाले बताए ।

सो क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाउने गरेको छ । आयोजनाले सातवटै वडामा चोरी शिकारीलाई निरुत्साहित गर्ने खालको कार्यक्रम गर्ने गरेको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

गाउँपालिकासंग मिलेर अहिंसा अभियानलाई राष्ट्रियस्तरमै यो प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्