| आइतवार, कार्तिक २२, २०८३

गोरखा बजारमा ढल बनाउन रु. ५० करोडको योजना पेश

 

अनुपमा खनाल :

गोरखा बजारको ढल निकास लाई ब्यवस्थित गरिने भएको छ । संघस्तरको खानेपानी तथा सरसफाई मन्त्रालयले गोरखा बजारको ढल ब्यवस्थापन गर्न लागेको हो ।
यो वर्ष ठेक्का प्रक्रिया पूरा गरी आगामि आर्थिक वर्षबाट काम सुरु गर्ने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना लमजुङले जनाएको छ ।
गोरखा सदरमुकामको सबै क्षेत्रमा ढललाई ब्यवस्थित र एकत्रित गरी निकासको संरचना बनाइने आयोजना प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए । ‘बजारक्षेत्रमा कुल २३ किलोमिटर ढल ब्यबस्थापन गर्ने हाम्रो तयारी छ’, उनले भने, ‘स्टमेट गरेर कार्यक्रम को प्रस्ताव खानेपानी तथा सरसफाई मन्त्रालयमा पठाएका छौं ।’ बर्षायामममा बग्ने पानी ढलमा नमिसिने गरी ब्यबस्थापन गरिने उनले बताए ।


घरबाट निस्कने दिसापिसाव, भान्छा र बाथरुमको फोहर पानी संकलन गरेर ढल ब्यबस्थापन गर्ने उनले बताए ।
‘अहिले घरघरबाट निस्कने फोहर पानी ढल मार्फत सिधै स्थानीय खोला र नदीमा मिसाउने गरिएको छ’, उनले भने, ‘अब बजारभरिको फोहरलाई ब्यवस्थित ढल निकास मार्फत एकत्रित गरेर प्रशोधन पछि मात्रै नदिमा मिसाइनेछ ।’

ढल ब्यवस्थापन र प्रशोधन केन्द्र निर्माणका लागि करीव एक अर्ब रुपैया खर्च लाग्ने कार्यालयको अनुमान छ । पहिलो चरणमा ढल ब्यवस्थापनको काम गरिने आयोजना प्रमुख काफ्लेले बताए ।

त्यसका लागि करीव ५० करोड रुपैयाँ खर्च लाग्ने कार्यालयले तयार पारेको लागत अनुमान प्रतिवेदनमा उल्लेख छ ।
प्रस्ताव स्वीकृतका लागि खानेपानी तथा सरसफाई मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । दोस्रो चरणमा भने ढलबाट निकास गरिएको फोहरको प्रशोधन केन्द्र निर्माण लगायतका काम हुनेछ । दरौंदी नदी आसपास यसप्रकारको प्रशोधन केन्द्र निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख काफ्लेले बताए । प्रशोधन केन्द्र निर्माणका लागि गोरखा नगरपालिकाले जग्गाको ब्यवस्थापन गर्ने उनको भनाई छ ।


बजारक्षेत्रबाट बग्दै गएको ढलको फोहर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाइने छ भने ठोस फोहरबाट मल उत्पादन गरिनेछ । त्यसका लागि पनि गोरखा नगरपालिकासँग सहकार्य गर्ने बारे छलफल भैरहेको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्