
नगरपालिकाद्वारा फुटपाथ खालि गराउने अभियान सुरु
गोेरखा नगरपालिकाले मुख्य बजार क्षेत्रमा फुटपाथ खालि गराउने अभियान सुरु गरेको छ ।
बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर ब्यबसाय सञ्चालन गर्ने क्रम बढ्दै गएपछि नगरपालिकाले फुटपाथ खालि गराउन थालेको हो । जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय र टोल विकास संस्थासँग समन्वय गरेर अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । बुधबार हरमटारीदेखि पुरानो बसपार्क हुँदै विपि चोकसम्म फुटपाथ ओगटेर ब्यबसाय गरेकाहरुलाई हटाएको गोरखा नगरपालिकाका वातावरण अधिकृत धुब्र घिमिरेले जानकारी दिए ।

‘फुटपाथ ब्यबस्थित गर्ने हाम्रो प्रयास हो’, उनले भने, ‘विपि चोक आसपास पसलका लागि फुटपाथमा बनेका ५ टहरा पनि भत्काएका छौं । घ्याम्पेशाल चोकमा चटपच, बिसौनीमोडमा आइसक्रिम र फलफुल पसल, बाटो ओगटेर राखेका निर्माण सामाग्री पनि हटाउन लगायौं ।’ फुटपाथ खालि गराउने क्रममा ठेला, भ¥याङ लगायतका सामाग्री नगरपालिकाले नियन्त्रणमा लिएको घिमिरेले बताए । ‘फुटपाथ अतिक्रमण नगर्न नगरपालिकाले एक महिनाअघि सार्वजनिक सूचना जारी गरेको थियो’, उनले भने, ‘सार्वजनिक सुचनापछि करीब ५० ब्यबसायीलाई फुटपाथ खालि गर्न चिठी काट्यौं ।

तर उहाँहरुले अटेर गरेर फुटपाथमै ब्यबसाय चलाइरहेपछि हामीले हटाएका हौं ।’ प्रायजसो हार्डवयर तथा कपडा ब्यबसायीले फुटपाथसम्म सरसामान राख्ने तथा नाङलो, ठेला, फलफूल पसल पनि फुटपाथमा नै सञ्चालन हुँदा बजारको सौन्दर्यमा ह्रास आउनुका साथै पैदल यात्रुलाई समस्या छ । पैदलयात्रु सडकमा नै हिड्नुपर्दा दुर्घटनाको जोखिम बढि भएकाले पनि फुटपाथ ब्यबस्थित बनाउन पहल थालेको वातावरण अधिकृत घिमिरेले बताए । फुटपाथ ब्यबस्थित बनाउनका लागि अनुगमनलाई निरन्तरता दिने उनको भनाई छ ।




