
गोरखाका सबै स्थानीय तहका एक मावि नमुना बन्दै
किरण लोहनी
संघीय सरकारले गोरखाका सबै स्थानीय तहका एक एक वटा माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ । दुई वर्ष अघि चार स्थानीय तहका एक एक विद्यालयलाई नमुनाका लागि छनौट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो वर्ष थप विद्यालय छनौटको तयारी गरेको हो । त्यसका लागि प्रस्ताव माग गरिएकोमा दश विद्यालयले प्रस्ताव बुझाएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । जस अनुसार आरुघाट गाऊँपालीका अन्तर्गत भवानी मावि मान्बुको मात्रै प्रस्ताव परेको छ । अजिरकोट गाऊँपालीकाबाट भने ज्ञानज्योती मावि हंसपुर, चतुर्माला मावि मुच्चोक र हिमालय मावि सिम्जुङले प्रस्ताव बुझाएका इकाईका अधिकृत सुवास आचार्यले बताए । यस्तै गण्डकी गाऊँपालीकाबाट ज्ञानमार्ग मावि घ्याल्चोक, पालुङटार नगरपालीकाबाट अमरज्योती जनता मावि लुईटेल र शहिद लखन गाऊँपालीकाबाट जनशक्ति मावि नामजुङले पनि प्रस्ताव बुझाएका उनले बताए ।

भिमसेन थापा गाऊँपालीका अन्तर्गत यसअघिनै दुल्लभ मावि घ्याम्पेसाल नमुना विद्यालयको रुपमा छनौट भैसकेकोमा सरस्वती मावि बोर्लाङले पनि प्रस्ताव पेश गरेको आचार्यको भनाई छ । यस्तै सिरानचोक गाऊँपालीका अन्तर्गत परोपकार आदर्श मावि जौवारी पनि गत वर्षनै नमुना विद्यालयका लागि छनौट भैसकेको छ । तर यो पटक सोही गाऊँपालीका अन्तर्गतको संसारी महेन्द्र मावि गाँखुले पनि प्रस्ताव पेश गरेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । साविकको शिक्षा विभागले जिल्लाको परोपकार आदर्श मावि जौवारी, महेन्द्र मावि कुन्दुर, दुल्लभ मावि घ्याम्पेसाल र सूर्यज्योती मावि ताकुकोटलाई नमुना विद्यालयका रुपमा विकास गर्ने गरि छनौट गरिसकेको छ । ‘यसअघि छनौट भएका चार स्थानीय तहका ४ विद्यालय सहित यो वर्ष अरु पाँच स्थानीय तहका एक एक विद्यालय छनौट गर्ने जानकारी आएको छ’ शाखा अधिकृत आचार्यले भने, ‘प्राप्त प्रस्तावहरु केन्द्रमा पठाउँछौं, उहाँहरुलेनै विद्यालय छनौट गर्नुहुनेछ ।’ नयाँ पाँच विद्यालय छनौट भएपछि जिल्लाका नौ स्थानीय तहका एक एक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिनेछ । धार्चे र चुमनुब्री गाऊँपालीकाबाट भने कुनै प्रस्ताव परेको छैन ।
गत वर्ष छनौट भएका विद्यालयले पूर्वाधार निर्माण, शैक्षिक सुधारका लागि गरिने क्रियाकलाप लगायतका विषयलाई समेटेर गुरुयोजना तयार पारेका हुन् । साविकको शिक्षा विभागले गुरुयोजना निर्माणका लागि विद्यालयहरुलाई पन्ध्र लाख रुपैया उपलब्ध गराएको थियो । गुरुयोजना अध्ययन पछि स्थानीय तहमार्फत ति विद्यालयमा आवश्यक रकम विनियोजन गरिने इकाईका अधिकृत आचार्यले बताए । तत्कालीन शिक्षा विभागले दिएको नमुना विद्यालय छनौटको आधार र शर्त अनुसारनै चार विद्यालय छनौटमा परेका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सोही आधारमा यो वर्ष प्रस्ताव पेश गरेका दशमध्ये एक स्थानीय तहबाट एउटा विद्यालय छनौट गरिने आचार्यको भनाई छ ।
‘कक्षा ११ र १२ मा पढाई हुने विषय, विद्यालयको स्वामित्वमा भएको जग्गा कम्तिमा १० रोपनी हुनुपर्ने, एसईई परीक्षाको नतीजा, स्थानीय स्तरमा विद्युत र इन्टरनेटको उपलब्धता, विद्यालयको अवस्थिति, अन्य विद्यालय गाभ्ने सम्भावना लगायतलाई आधार बनाएर विद्यालय छनौट गरिने जानकारी आएको छ ।’ आचार्यले भने ।

यि विद्यालयमा नमुना बन्नका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार निर्माण गरिने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यसमध्ये पहिलो वर्ष छनौट भएको महेन्द्र मावि कुन्दुरमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
िशक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत एशियाली विकास वैङ्कको सहयोगमा सो विद्यालयमा भौतिक संचरना निर्माणको काम भएको हो । एडिविले छात्रावास सहितको भवन, शौचालय लगायतका भौतिक पूर्वाधार निर्माण गरेको छ । नमुना हुनका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधार निर्माणसँगै विद्यालय ब्यवस्थापन, शिक्षण सिकाईमा सुधार लगायतका क्रियाकलापहरु पनि गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दिपक शर्माले बताए । नमुना बन्न लागेका विद्यालयमा शौचालय, खेल मैदान, खानेपानी, पुस्तकालय, प्रयोगशाला लगायत सबै संरचना आधुनिक र नमुना बन्ने उनले जानकारी दिए ।




