| आइतवार, कार्तिक २२, २०८३

पालुङटार नगरपालिकाको सबै विद्यालयमा सेनेटरी प्याडको ब्यबस्था गरिने

गोरखाको पालुङटार नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा छात्राका लागि निशुल्क सेनेटरी प्याडको ब्यबस्था गर्ने भएको छ । पहिलो चरणमा नगरपालिका भित्रका १३ माविमा सेनेटरी प्याडको ब्यबस्था गर्ने लक्ष्यका साथ नगरपालिकाले मिरकोट माविबाट अभियान सुरु गरेको हो ।

विद्यालयमा आइतबार आयोजित कार्यक्रममा पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले छात्राका लागि प्याड हस्तान्तरण गरेर अभियानको थालनी गरेकी छन् । महिनावारी स्वास्थ्य ब्यबस्थापनको लागि बिद्यालयमा सेनेटरी प्याडको ब्यबस्था गरेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दिपेन्द्र गिरीले बताए ।


संघीय सरकारबाट प्राप्त शशर्त अनुदानको २५ हजार रुपैयाँ यो कार्यक्रममा खर्च गरिएको उनले बताए । अपुग रकम नगरपालिकाले आन्तरिक स्रोतबाट ब्यबस्थापन गर्ने उपमेयर बसेलले बताइन् । महिनावारीका कारण छात्राले कक्षा छाड्न नपरोस भनेर विद्यालयमा सेनेटरी प्याडको ब्यबस्था गरेको उनको भनाई छ ।

यो कार्यक्रमले छात्राको स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा फाईदा पुग्ने उनले विश्वास ब्यक्त गरिन् । आगामी बर्ष सेनेटरी प्याड उत्पादनका लागि छात्राहरुलाई तालिमको ब्यबस्था गर्ने उनको प्रतिबद्धता छ । मिरकोट माबिबाट सुरु भएको अभियान नगर क्षेत्रका ४६ वटै विद्यालयमा सञ्चालन गर्ने पालुङटार नगरपालिकाले जनाएको छ । मिरकोट माविका निमित्त प्रधानाध्यापक रामहरी ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्