
खोइ सरकारी स्कूल ? स्पोन्सरले खायो
गुम्बाका एजेण्ट र चर्चका एजेण्ट ले हुर्केका गाउँका बालबालिका सहर लगेपछि चुमनुब्री गाउँ पालिकाका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । विद्यार्थी सुन्य भएपछि सो गाउँपालिकाका पाँच वटा विद्यालय सरकारले नै विधिवत रुपमा बन्द गरेको छ ।
मनास्लु इन्द्रेणी प्राबि नाम्रुङ, पेमाथाङ प्राबि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्राबि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक, क्य्राक प्राबि क्य्राकबन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यार्थीबिहिन भएपछि गुम्बा हिमाली प्राबि बिही विधिवत बन्द भएको थियो । विद्यालयको भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो । तर एक बर्षअघि फेरि इसिडी कक्षा सञ्चालन गर्न थालिएको वडा अध्यक्ष सोनाम ग्याल्जेन बताउँछन् । स्थानीय धावा लामाका अनुसार विद्यार्थी संख्या कम भएपछि छाक गाउँको हिमचुली आधारभूत विद्यालयमा कक्षा घटुवा गरेर इसिडी मात्र सञ्चालन गरिएको छ । त्यस्तै वुद्ध प्राबि न्याक, साम्दो आधारभूत विद्यालय साम्दो, प्रोक आधारभूत विद्यालय, सिप्चेत प्राविमा पनि कक्षा घटुवा गरेर इसिडीसम्म मात्र सञ्चालन गरिएको स्रोत व्यक्ति रोहिणीप्रसाद खनाल बताउँछन् । पाँचकक्षासम्म चलेको छेकम प्राबि छेकम, छुलेनिले प्राबि पनि घटुवा गरेर तीन कक्षासम्म मात्र चलाइएको छ । विद्यार्थी भने मुस्किलले १०, १२ जना मात्र हुने स्थानीय ङवाङ सोनामले जानकारी दिए ।
बन्द गरिएका र घटुवा गरिएका विद्यालयका शिक्षकहरु आवासीय गरेर सञ्चालन गरिएको ल्हो आवासीय विद्यालय स्याला, नुब्री आवासीय विद्यालय गप, सेराङ आवासीय विद्यालय बिही, वुद्ध आवासीय विद्यालय लार र वुद्ध आवासीय मावि सिर्दिबासमा समायोजन गरिएको स्रोतव्यक्ति रोहिणी खनालले बताए ।
नाम्रुङका स्थानीय छिरिङ याङ्गुङ लामा भन्छन् ‘विद्यार्थी पनि छैन, शिक्षक पनि छैन । स्कूल पनि चलेको छैन ।’ बसाइँ सरेर यहाँका बालबालिका काठमाडौंको चोभार, फर्पिङका गुम्बामा पु¥याइएको छ । ‘लामा गुरुहरुले दातृ निकाय खोजेर फर्पिङ, चोभारमा गुम्बा खोलेका छन् । त्यहाँ बोर्डिङ पनि चलाएका छन्’, छिरिङ भन्छन्, ‘घर छोड्न सक्नेजति सबै त्यतै गएका छन् । बच्चा जन्मिने बित्तिकै गुरुहरु नाम लेख्न आउँछन् । यहाँ बच्चा नभएपछि तल्लोभेग आरुघाटतिर पनि कोही बच्चा छन् भने सम्पर्क गराइदिनू । हामी लगिदिन्छौं भनेर खोज्छन् ।’ उनका अनुसार गाउँमा बालबालिका छैनन् । कसको घरमा बच्चा हुर्किदै छ भन्ने अध्ययन गरेर धर्म गुरुहरुले बच्चाको नाम टिप्ने स्थानीय धावा लामा बताउँछन् । धर्म गुरुहरुले बालबच्चालाई काठमाडौंको थानकोट, गागलफेदी र इण्डिया सम्म पनि पु¥याउने गर्छन् । ‘बच्चा हुर्किने बित्तिकै गुम्बा र चर्चका प्रतिनिधिहरु घरघरै नाम दर्ता गर्न आउँछन्’, लामा भन्छन्, ‘उनीहरुले खान, बस्न, डूेस, औषधी उपचार सबै व्यबस्था हुन्छ भनेपछि सबैले उतै लान्छन् ।’ खाने बस्नेलगायतको सुबिधा पाउने भनेपछि अभिभावकले लोभिएर बच्चा पठाउने गरेको उनको भनाइ छ ।
उनका अनुसार पहिले यस्तो थिएन । केहीबर्षयता धर्म गुरुहरुले सानै उमेरका बच्चाहरुलाई सहरमा पढाइदिने प्रलोभनमा लाने गरेको उनले बताए । ‘चर्चका मान्छेहरु आएर गाउँका बालबालिका पढाइदिने भन्दै लैजान थालेपछि मानिआएको धर्म जोगाउन लामा गुरुहरुले पनि त्यसै गर्न थाले’, उनी भन्छन्, ‘अहिले कोही गुम्बाको स्पोन्सरमा, कोही चर्चको स्पोन्सरमा सहरका स्कूलमा पुगेका छन् ।’ आफ्नो गाउँका बालबालिका धेरैजसो सहरतिर गएपछि जिल्ला बाहिरबाट सो क्षेत्रमा काम गर्न आउने कामदारका छोराछोरी र धेरै टाढाका गाउँबाट आएका बालबालिकाले गाउँको विद्यालय भरिएको उनले बताए । ‘हाम्रो आसपासमा करिब दुईसय घरधुरी छ, तर गाउँको नुब्री आवासीय स्कूलमा ८० जना विद्यार्थी छन् । उनीहरु पनि धेरैजसो बाहिरबाट आएका हुन्’, उनले भने ।
शिक्षक अनुपस्थित र पढाइ अनियमित भएपछि अभिभावकले बालबालिका स्पोन्सरको जिम्मा लगाउन बाध्य भएका स्थानीयबासी को भनाइ छ । ‘गाउँको स्कूलमा सर मिस कोही पनि छैनन् । पढाइ पनि हुन्न त्यही भएर बुबाआमाले बच्चाजति स्पोन्सर खोज्दै काठमाडौं पठाएका हुन्’, स्थानीय लाक्पाडुण्डुप लामा भन्छन्, ‘बालबच्चा नभएपछि सरकारले स्कूलको दरबन्दी काटेर कोही गप, कोही सेराङको स्कूलमा पठाएको छ । स्कूल बन्द छ ।’
सात आठ बर्षभन्दा माथिका बालबालिका गाउँमा नरहेको साम्दोका वडा सदस्य निमा दोर्जे बताउँछन् । ‘छ, सात बर्ष लागेपछि सबै काठमाण्डौं जान्छन्’ उनी भन्छन् ‘कोही काठमाडौंमा गुम्बामा पढ्छन्, कोही अभिभावकले स्पोन्सर खोजेर लामाले चलाएको बोर्डिङमा पढाउँछन् ।’ बालबालिका गाउँमा नरहनुको पछाडि सरकार नै बढि दोषी रहेको उनको भनाइ छ । ‘हाम्रोतिर त सरकारै छैन’ उनी भन्छन् ‘स्रोतव्यक्ति र विद्यालय निरीक्षकले बेला बेला अनुगमन गर्ने, शिक्षक नभेटिए कहाँ गएको, के कामले गएको ? पत्ता लगाएर एक दुई फेर कारबाही ग¥यो भने त शिक्षक, विद्यार्थी नियमित हुन्थे ।’ दुर्गममा सरकारको नजर नपुगेको उनको भनाइ छ । विद्यार्थीको संख्या धेरै देखाएर छात्रवृत्ति, पाठ्यपुस्तक, पिसिएफ बापतको रकम निरन्तर आइरहने भएकाले भूपू विद्यार्थीको पनि नाम नकाटिने स्थानीय एक युवाको टिप्पणी छ । विद्यार्थी नभएपनि निरन्तर आउने सुविधा कसले लिइरहेको छ भन्ने बारे खोजी हुनुपर्ने उनी बताउँछन् ।
मनास्लु पर्यटकीय क्षेत्रभित्र पर्ने भएकाले सोही क्षेत्रमा घर भएका शिक्षकहरु होटल ब्यबसायमा ब्यस्त हुन्छन् भने बाहिर घर भएका शिक्षकहरु विद्यालय जाँदै नजाने समस्या स्थानीयबासी बताउँछन् । ‘स्थानीय शिक्षकहरु होटलमा ब्यस्त हुन्छन्’ स्थानीय सोनाम लामा भन्छन् ‘बैशाखमा स्कूल खोलेजस्तो गर्छन् । जेठ, असारमा यार्सागुम्बा टिप्न जान्छन् । साउन, भदौ, असोज, कात्तिक र मङ्सीरसम्म टुरिष्टहरुको भीड लाग्छ । होटलमा भ्याइनभ्याइ हुन्छन् । पुस लागेपछि स्कूल बन्द गरेर एकैचोटी बैशाखमा खोल्छन् । बाहिर घर भएका शिक्षकहरु त आउँदै आउँदैनन् ।’ विद्यार्थीको त्रैमासिक तथा बार्षिक परीक्षा पनि हुने नहुने कसैले थाहा नपाएको उनको भनाइ छ ।
छेकम्पारका विद्यालयमा सट्टा(खेताला) शिक्षकको प्रचलन कायमै रहेको स्थानीयबासी दोर्जे लामा बताउँछन् ।
सरकारी विद्यालयमा पढेका बालबालिकाले भन्दा विभिन्न धार्मिक संस्थाले पढाएका विद्यार्थीले अवसर पाउने भएकाले यस्तो भएको शिक्षा शाखा प्रमुख नारायण अधिकारीको तर्क छ । ‘सरकारी विद्यालयमा पढेका बाल बालिकाले धमाधम काम पाए भने अरुलाई पनि पढुँपढुँ लाग्छ’, उनी भन्छन्, ‘गुम्बाले, चर्चले पढाइदिएका बालबालिकाले धेरै सुविधा पाउँछन् । पढिसकेपछि पनि विदेश लागिदिन्छन् । त्यसैले विद्यार्थीहरु गाउँको स्कूल छाडेर उनीहरुको पछि लागेका हुन् ।’




