| सोमवार, कार्तिक २३, २०८३

गोरखाका छ वटा बालविकास स्तरोन्नती हुने

दरौंदी : गोरखाका छ सामुदायिक विद्यालय मा सञ्चालित बाल विकास केन्द्रको स्तरोन्नतीका लागि गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले अनुदान दिने भएको छ ।

गण्डकी गाउँपालिका को ज्ञानमार्ग मावि, सिरानचोक गाउँपालिकाको बालज्योती आधारभुत, फिनाम आधाभूत र सत्यदेवी प्रावि, आरुघाट गाउँपालिकाको सितलादेवी आधारभूत विद्यालय र शहीद लखन गाउँपालिकाको हिमालय माध्यामिक विद्यालयले बालविकास केन्द्र स्तरोन्नतीका लागि अनुदानका लागि छनौट भएका हुन् । छनौट भएका प्रत्येक विद्यालयले एक लाख रुपैयाँ अनुदान पाउने निर्देशनालयका प्रमुख डाक्टर बाबुराम ढुंगानाले बताए ।

‘हामीले सम्बन्धित सबै विद्यालयसँग सम्झौता गरिसकेका छौ’ उनले भने ‘उहाँहरुको प्रस्तावना अनुसार अनुदानको रकम खर्च गर्नुपर्छ, रकम निकासा गर्छौ ।’ निर्देशनालय ले गोरखा नगरपालिकाको मनकामना बहिरा आबासीय विद्यालयलाई समावेशी शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालय को क्षमता विस्तार अनुदान शिर्षकका एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । स्थानीय तहमा सञ्चालित सामुदायिक सिकाई केन्द्रहरुको संस्थागत क्षमता विकासका लागि सात लाख २५ हजार रुपैयाँ अनुदान दिईने भएको छ ।

बारपाक सुलिकोट गाउँ पालिका ५ को ताकुमाझ लाकुरी बोट सामुदायिक सिकाई केन्द्र, भिमसेन थापा गाउँपालिका १ को दुल्लभ सामुदायिक सिकाई केन्द्र, आरुघाट गाउँपालिका ४ को दुर्गम क्षेत्र सामुदायिक सिकाई केन्द्रले अनुदान पाउने भएका छन् । पालुङटार नगरपालिका १ को अन्नपुर्ण सामुदायिक सिकाई केन्द्र, ४ को लिगलिग सामुदायिक सिकाई केन्द्र, ८ को धुँवाकोट सामुदायिक सिकाई केन्द्र र १० को जनजागृती सामुदायिक सिकाई केन्द्रले पनि संस्थागत विकासका लागि अनुदान पाउने भएका छन् ।

ती सिकाई केन्द्रमध्ये ताकुमाझले एक लाख २५ हजार रुपैयाँ र अन्यले एक लाख रुपैयाँ अनुदान पाउदै छन् ।

प्रतिक्रिया दिनुहोस्