| आइतवार, कार्तिक २२, २०८३

धन्यवाद छेकम्पारका ‘डाक्टर’ वाङ्चुक जसले पाँच रुपैयाँमै उपचार गर्छन्

 

बिरामी पर्दा हाम्रो आँखामा ठोक्किन आइपुग्छ, अस्पतालको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत ३ वर्षदेखि पाँच रुपैयाँमै बिरामीको उपचार गरिरहेका छन। उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठूाङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन। काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी याङ्जे गुम्बामा रहेको क्लिनिकबाट दैनिक सयौँले सेवा लिइरहेका छन।
गुम्बामा आउनुअघि वाङ्चुक गाउँगाउँमा स्वास्थ्य शिविर चलाउँथे। शिविर चलाउँदा(चलाउँदै बिरामी भएपछि उनको मुटुको अप्रेसन भयो । डाक्टरले आराम गर्नु भनेका छन। तर, आराम गर्दैनन् । गुम्बाका लामासँगै गाउँलेको उपचारमा उनी खटिइरहेका छन् । स्वास्थ्य क्षेत्रमा उनको योगदानको कदर गर्दै विश्वकै धनी व्यक्ति बिल गेड्सको नाममा रहेको बिल गेड्स फाउन्डेसनले प्रत्येक वर्ष दिने अवार्डमा उनी पनि छानिएका छन। बेलायती संस्था ‘वन योङ वल्र्ड’बाट उनी नेपालको तर्फबाट युथ अम्बास्डर पनि हुन् । अन्य थुप्रै अवार्ड र सम्मान पाएका छन् वाङ्चुकले ।
गेरुवस्त्र लगाएका वाङ्चुकले सुनाए गणेश हिमालको फेदीमा चौँरीको पछिपछि हिँडेका दिनहरूदेखि आयरल्यान्ड, अमेरिका र बेलायतका सहरमा पुग्दासम्मका अनभूति ।
गोरखाको विकट गाउँ छेकम्पारमा जन्मिए वाङ्चुक । उनको बुबा चौँरी गोठालो । बुबासँगै उनी पनि चौँरी गोठमा गए । चौँरी गोठमा बिताएका क्षण उनको स्मृतिमा ताजै छन। भन्छन, ‘वर्षामा एकदमै दुःख हुन्छ । कुहिरो लाग्छ । नजिकैको चौँरी पनि देखिँदैन ।’ चौँरी गोठमा उनले ७ महिना बिताए । त्यतिन्जेल उनका लागि स्कुल भन्नु नै चौँरी गोठ थियो । गीतकार तथा संगीतकार आभासको एउटा गीत छ ( लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ… । हो, वाङ्चुकको बाल्यकाल गीतले भनेजस्तै कुहिरोभित्र बित्यो । चौँरी चराउँदै बित्योरु। गणेश हिमाल र मनास्लु हिमालको काखमा याकको पछिपछि हिँड्दा(हिँड्दै बित्यो ।
परिवारका माइला छोरा वाङ्चुक । उनी ७ वर्षको हुँदा परिवारले गाउँकै गुम्बामा पढ्न पठायो । त्यहाँ पढ्दा(पढ्दै थप लामा विद्या पढ्न ०५४ सालमा उनी बुबाको पछिपछि काठमाडौं आए । त्यो दिन सम्झिँदै भन्छन्, ‘घरबाट १० दिन हिँडेर काठमाडौं आइपुगियो ।’ उनी बौद्धको थाङ्गु टासी थेलिङ गुम्बामा लामा पढ्न थाले ।
‘गाउँमा चिठीपत्र, टेलिफोन केही पनि थिएन, बुबासँग छुटेपछि धेरै वर्षसम्म परिवारका कोहीसँग पनि भेट भएन,’ बोल्दाबोल्दै उनी रोकिए । बाल्यकाल आमाबुबाको साथविनै बित्न थाल्यो । उनलाई घरको यादले सतायो । हिमालको फेदीले न्यास्रो बनायो। गुम्बाको माथि बसेर उत्तरतिर फर्किएर गाउँ सम्झिँदै धेरै रोए ।
वाङ्चुक गुम्बाको चार दिवारभित्र आमा सम्झेर, गाउँघर सम्झेर रोइरहँदा उता उनकी आमा (फुर्बुबुटी लामा) जन्डिससँग लड्दै थिइन् । गाउँलेहरूले झारफुक गरे । झाँक्री लगाए । हिमाली जडीबुटी खुवाए । तर, बिरामी बीसको उन्नाइस भएन । बिरामी कुर्न गाउँभरिका मानिस उनको घरमा जम्मा हुन थालेरु। कोसेलीका रूपमा कसैले रक्सी लिएर गए । कसैले क्लोल्दो (घिउमा पिठो मिसाई बनाउने परिकार) लिएर गए । तर, उनकी आमालाई जन्डिसले झन् कमजोर बनाउँदै लग्यो । माइँला छोरा भेट्न नपाएको ९ वर्ष बितिसकेको थियो । वाङ्चुक घरको न्यास्रो लागेर टोलाइरहेको एक साँझ उनकी आमाले सधैँका लागि संसार छाडेर गइन् ।
यता वाङ्चुकलाई आमाले छाडेर गइसकेको थाहा दिइएन। पढाइ नबिग्र्रियोस् भनेर उनलाई कसैले यो घटना भनेनन्। निकैपछि अरूबाटै आमा बितिसकेको खबर पाए । सुन्नेबित्तिकै उनी गाउँ गएरु। उस्तै थियो गाउँ । उस्तै थियो हिमालको फेदी । उस्तै थियो बारीमा फलिरहेको गहुँको बाला । उस्तै थियो चौँरी र याकको बथान । तर, फरक थियो उनको घर । भन्छन, ‘जुन चकटीमा बसेर आमाले खाना पस्किनुहुन्थ्यो, त्यहाँ आमा हुनुहुन्थेन । त्यसपछि म बेस्सरी रोएँ ।’
धेरै दिनसम्म घरमा धुमधुम्ती बसिरहे वाङ्चुक । बुबा (ठुक्देन लामा)लाई समयमै जानकारी नदिएको भन्दै गाली गरे । आमाको मृत्युको कारण सोधे । सबै कारण जन्डिस नै देखे । जन्डिस लागेको समयमै थाहा पाएको भए आज आमा आफ्नो कपाल सुमसुम्याइ रहेको हुने उनले ठाने। त्यसपछि गाउँको अनभिज्ञता, गाउँको पछौटेपन, स्वास्थ्यप्रति गाउँको पुरानै मान्यता उनले देखे । अब उनलाई लाग्यो( लामा विद्या मात्रै पढेर केही हुन्न । भन्छन, ‘डाक्टर बन्न नसके पनि एचए (हेल्थ असिस्टेन्ट) सम्म बनेर भए पनि स्वास्थ्य क्षेत्रमा केही गर्छु भन्ने अठोट गरेँ ।’ मनभरि अठोट अनि आमाको याद बोकेर वाङ्चुक सहर फर्किए ।
त्यो घटना
आमाको मृत्युपछि वाङ्चुकको यात्रा मोडियो । भन्छन, ‘मेरो जस्तै घटना अरूले व्यहोर्न नपरोस् भन्ने लाग्यो ।’ त्यसपछि गुम्बाभित्रै बसेर ‘नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी’ (निम्स) ग्वार्कोमा एचए पढ्न थाले । पढ्दा(पढ्दै उनले गाउँगाउँमा स्वास्थ्य शिविर चलाए । गुम्बामा बस्दा बनाएका विदेशी साथीहरूसँग सहयोग लिए । उनीहरूलाई नेपाल बोलाए । ती साथीहरूलाई लिएर गाउँगाउँमा स्वास्थ्य शिविर चलाए । निःशुल्क स्वास्थ्य शिविर चलाउँदै उनी गोरखा, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ पुगे । शिक्षाबाट वञ्चित मानिसहरूलाई आधारभूत स्वास्थ्य शिक्षा दिए । भन्छन, ‘मेरो आमाको जस्तै अवस्था अरूको पनि नहोस् भन्ने लागिरहन्छ ।’ वाङ्चुकले ०७० मा एचए सके । तर, बिरामीहरू उनलाई ‘डाक्टर’ भन्छन् । तर, एक वर्ष बित्दानबित्दै वाङ्चुकको जीवनमा अर्को दुःखद् घटना भयो । स्वास्थ्य शिविर लिएर गाउँगाउँ घुम्दाघुम्दै उनलाई टन्सिल भयो। टन्सिल निको भएन। चिसोले होला भन्ने ठाने। तर, महिनौँ निको नभएपछि अस्पताल गएर जँचाए। रिपोर्ट आउँदा उनी छाँगाबाट खसेजस्तै भए। रिपोर्टमा एएसडी (मुटुमा प्वाल पर्ने रोग) देखियो। उनलाई विश्वास लागेन। फेरि जँचाए। रिपोर्ट उही आयो। भन्छन, ‘त्यसवेला मलाई आमाको सम्झनामा गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर चलाउने सपना अपूरै हुने डरले सतायो ।’
वाङ्चुकको ओपन हार्ट सर्जरी गर्नुपर्ने भयो। डा. ज्योतिन्दर शर्माले उनको अप्रेसन गरे । करिब ९ घन्टा बेहोस भएपछि उनी होसमा आए । उनले पुनर्जीवन पाए। छातीको दाग देखाउँदै उनले भने, ‘मेरो अप्रेसन सफल भयो । अब म बाँच्छु भन्ने लाग्यो ।’ उपचार सफल हुँदा(नहुँदै उनको जीवनमा अर्को मोड थपियो । त्यो मोड सुखद मोड थियो ।
विश्वरभरिका स्वास्थ्यकर्मी समाज सेवीको आयरल्यान्डको डब्लिनमा हुने ‘वन योङ वल्र्ड कन्फेरेन्स’ मा उनी सहभागी भए। त्यही कन्फेरेन्सबाट उनी नेपालको तर्फबाट ‘युथ अम्बास्डर’ बने । लन्डनको ‘हेप्पोक्रेटिक पोस्ट’ पत्रिकाबाट अवार्ड पाए । यही सेप्टेम्बरमा उनलाई ‘विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ले प्रत्येक वर्ष वितरण गर्ने ‘गोल्ड किपर्स अवार्ड(२०१८’ बाट सम्मानित गर्ने भएको छ। संसारकै धनी व्यक्तिको फाउन्डेसन बाट सम्मानित हुन पाउँदा वाङ्चुक खुसी छन् ।
५ रुपैयाँमा उपचार
०७३ सालदेखि वाङ्चुक नमोबुद्धको गुम्बामा रहेको ‘ठूाङ्गु फेन्दे क्लिनिक’ मा कार्यरत छन्। सुरुमा क्लिनिक इन्चार्ज र अहिले उनी डाइरेक्टरका रूपमा कार्यरत छन्। भन्छन, ‘मेरो कुनै तलब छैन । यही गुम्बामा बस्छु। लामाहरूको उपचार गर्छु। गाउँलेहरूको उपचार गर्छु।’ क्लिनिक हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार आममानिसका लागि खुला हुन्छ। अन्य दिन गुम्बाभित्रैका लामाहरूको उपचार हुन्छ। क्लिनिकमा ओपिडी सञ्चालनमा छ। क्लिनिकमा एकजना एमबिबिएस, एकजना बिसिएस, एकजना ल्याब टेक्निसियन र एकजना सिएमए कार्यरत छन्।
क्लिनिकमा टाढा(टाढाबाट मानिस उपचार गर्न आउँछन्। ‘काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली बाट पनि बिरामी आउँछन,’ उनले भने । गाडी नै रिजर्व गरेर मानिस हरू आउने गरेको उनको अनुभव छ । भन्छन, ‘कतिपय बिरामी काठमाडौंमा उपचार नहुने भएपछि यहाँ आउँछन्।’ मानिसहरू वाङ्चुक कार्यरत क्लिनिकमा जानुका केही कारण छन्। धार्मिक आस्थाले आउने बिरामी पनि होलान् । तर, त्यहाँ मात्रै पाँच रुपैयाँमा उपचार हुने भएपछि बिरामीहरू आउने गरेको उनी बताउँछन्। भन्छन, ‘ओपिडी कार्डको ५० रुपैयाँ लिने गरेका छौँ । त्यसपछि क्लिनिकमा उपलब्ध सम्पूर्ण सेवा पाँच रुपैयाँमा हुन्छ । ५ रुपैयाँभित्रैबाट बिरामीले औषधि आवश्यकताअनुसार लैजान पाउँछन् ।’
क्लिनिकमा रुघाखोकी, झाडा पखाला, घाउखटिरा, ज्वरो, सुगर चेक, युरिक एसिट चेकलगायतको उपचार हुन्छ । त्यस्तै प्यारालाइसिसका बिरामीको समेत उपचार हुन्छ। भन्छन, ‘एक्कुपञ्चर विधि र आयुर्वे्दिक उपचार पनि हुन्छ ।’ दैनिक ६० देखि सयजना सम्मलाई सेवा दिइरहेको उनी बताउँछन। नमोबुद्ध नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक दिनमान गुर्मछान नगरपालिकाबाट स्वीकृति लिएर क्लिनिक सञ्चालन भइरहेको बताउँछन। वाङ्चुकबारे उनी भन्छन, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा एकदमै सक्रिय समाजसेवी हुनुहुन्छ उहाँरु ’
ओपन हार्ट सर्जरी गरेका वाङ्चुकलाई डाक्टरले धेरै भारी काम नगर्नू भनेका छन। तर, उनी खटिइरहन्छन् । क्लिनिकसँगै उनी कहिले पुग्छन् स्वास्थ्य शिविर लिएर गाउँगाउँमा, कहिले पुग्छन् अनाथालयमा । कहिले पुग्छन् मासिक रिपोर्ट लिएर नगरपालिका कार्यालय । उनले भूकम्पपछि आमाको सम्झनामा गोरखामा हेल्थपोस्ट पनि बनाए । उनी रोकिएका छैनन्। भन्छन्, ‘यो जुनीमा समाजसेवा गरेर जीवन बिताउने मेरो योजना होरु। म हिँडिरहन्छु ।’
गुम्बाभित्र पढाइ सकेर विद्यार्थीहरू बाहिर निस्कन थाले ।
गुम्बामा साँझको बत्ती झलमल बल्न थाल्यो । पश्चिमी आकाश अब पूरै अँध्यारो भइसकेको थियो । वाङ्चुक हाँस्दै आफ्ना जीवनकथा सुनाइरहेका थिए । भर्खरै विश्व अनाथ दिवसमा बालबालिकालाई लत्ताकपडा बाँडेर आएको पनि सुनाए । आगामी सपनाबारे उनले भने, ‘मानिसहरू सिटामोल खान नपाएर मरिरहेका छन्। म उनीहरूकै लागि निरन्तर लागिरहनेछु ।’
साभारः नयाँ पत्रिका ।

प्रतिक्रिया दिनुहोस्