
गोरखाका नयाँ विद्यालयहरु रिसोर्ट जस्ता
०७२ सालको भूकम्पले गोरखाका चारसय ९५ वटा विद्यालय भत्कायो । विद्यार्थीहरु तीनबर्षसम्म बाँसले बारेका अस्थायी टहरामा पढे । भत्केका विद्यालयहरु अहिले धमाधम ब्युँतिदैछन् । नयाँ भवन आकर्षक र सुविधासम्पन्न रहेको शिक्षकहरु बताउँछन् ।
‘नयाँ विद्यालय भवनहरु रिसोर्ट जस्ता छन्’, जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का इञ्जिनियर बाबुराम देवकोटा भन्छन्, ‘भूकम्पले विद्यालय भत्कायो । यो दुखद भयो तर अहिले यस्ता भवन देखेर शिक्षक, अभिभावक, विद्यार्थीहरुले पुरानो दुख बिर्सिएका छन् ।’ विशेषगरी भूकम्पीय आपतकालीन विद्यालय पुनर्निर्माण परियोजना(इएसआरपी)अन्तर्गत जाइकाले निर्माण गरेको विद्यालय भवन सुविधा सम्पन्न र आकर्षक रहेको उनले बताए ।
इएसआरपीअन्तर्गत जाइकाले पहिलो चरणमा ६१ वटा विद्यालय बनाएको छ । पहिलो चरणको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको देवकोटाले बताए ।
जाइकाले जिम्मा लिएको सबै विद्यालय भवन अपाङ्गमैत्री छन् । तेलिया इट्टाले चार तलेसम्मका भवन निर्माण गरेको भन्दै इञ्जिनियर देवकोटाले प्रसंसा गरे । ‘जाइकाले बनाएको विद्यालय भवनमा तेलिया इट्टाको प्रयोग भएको छ । सेलिगेण्ट पेण्ट, सोलार बत्ती, पानीसहितको सौचालय, खानेपानी, कम्प्यूटर ल्याब, म्यूजिक रुम, पुस्तकालय समेत निर्माण गरिदिएको छ’, देवकोटाले भने, ‘फर्निचरको व्यबस्था उसैले गरेको छ । हरेक कक्षामा पङ्खा राखिदिएको छ । प्रवेशद्वार, कम्पाउण्ड वाल बनाइदिएको छ । बहुउद्देश्यीय सभाहल पनि बनाइदिएको छ । लाइटिङ सिस्टम यस्तो छ कि, बेलुका बत्ती बालेपछि रिसोर्ट भन्दा कम देखिन्न ।’ एउटै विद्यालय १० करोड रुपैयाँसम्म खर्च गरेर निर्माण गरेको उनले बताए ।
जाइकाले सुविधासम्पन्न २० वटा विद्यालय भवन हस्तान्तरण गरिसकेको उनले बताए । ‘अब ११ वटा सम्पन्नताको फाराम भरिसकेका छन् । हस्तान्तरणको चरणमा छ’, उनले भने, ‘२४ वटा भवन सम्झौता मितिभन्दा अघि नै सम्पन्न हुने गरी निर्माण हुदैछन् । आठ वटा भवन निर्माण सम्पन्न हुने चरणमा छन् ।’
इएसआरपीपछि एडिबीको सहयोगमा डिआरएसपी कार्यक्रम लागु हुने तयारीमा रहेको उनले बताए । डिआरएसपीले चार वटा विद्यालय बनाउने तयारी गरेको उनले बताए ।
नेपाल सरकारकै कार्यक्रम अन्तर्गत दुईसय ४९ वटा विद्यालय भवन बनेका छन् । सेभ द चिल्डे«न ले सात वटा, गुड नेभर इन्टरनेशनलले सातवटा भवन निर्माण गरेको छ भने गणेश हिमाल एशोसिएशनले चार वटा र लायन्स क्लव इन्टरनेशनले चारवटा निर्माण गरेको छ । त्यस्तै भारतीय दूतावास ले जिम्मा लिएको १० वटामध्य चारवटा भवन निर्माण कार्य सुरु भएको छ ।
नयाँ भवन सुविधासम्पन्न भएको धर्मोदय मावि पालुंटार नगरपालिकाका प्रधानाध्यापक इश्वर बानियाँले बताए ।
‘बालमैत्री, अपांगमैत्री, १९ कोठे चार वटा भवन बनाएको छ’, प्रअ बानियाँले भने, ‘पुस्तकसहितको पुस्तकालय, उपकरण सहितको विज्ञान प्रयोगशाला पनि बनाइ दिएको छ ।’ भूकम्पले क्षति भएका मध्य अझै १०६ वटा विद्यालय भवन निर्माण हुन बाँकी रहेको जिल्ला आयोजना कार्यन्वयन इकाइले जनाएको छ ।




