
बिषालु च्याउ खाएर आमाछोरीको मृत्यू, बुहारी सिकिस्त
विषाक्त च्याउ खाएर गोरखाका एकै घरका आमा छोरीको मृत्यू भएको छ । गण्डकी गाउँपालिका वडा नं. २ याङ्दीका ५२ बर्षकी आमा सुकमाया र छोरी १३ बर्षकी अमृता थापाको जंगली च्याउ खाएर मृत्यू भएको स्थानीयबासीले जानकारी दिए ।
च्याउ खाएरपछि बिरामी भएका उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा नै मृत्यू भएको स्थानीय श्यामप्रसाद लामिछानेले बताए । सोही च्याउ खाएर बिरामी बुहारी एलिशा थापाको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।
उनका अनुसार सात जनाको परिबार रहेको सो घरका तीनजनाले च्याउ खाएका, चार जनाले खाएका थिएनन् । ‘आमा, छोरी र बुहारीले मात्र च्याउ खाएका रहेछन्’, उनले भने, ‘छोरीको बुधबार मृत्यू भयो । आमाको बिहिबार मृत्यू भयो । बुहारी उपचारमै छन् ।’
उनीहरुले बैशाख ५ गते जंगली च्याउ खाएका हुन् । बिरामी भएपछि सामान्य उपचार गाउँमै गरे । छ गते थप उपचारका लागि भरतपुर अस्पतालमा उपचार गर्न गएका थिए । ‘उपचार हुन नसकेर बुधबार छोरी मरिन् । बिहिबार आमा मरिन् । बुहारीको उपचार भइरहेको छ’ लामिछानेले भने ।




