| सोमवार, कार्तिक २३, २०८३

फ्रान्सको ‘लाप्राकका साथी’ले लाप्राकमा मनायो बीसौं एनिभर्सरी

अनुपमा खनाल :
फ्रान्समा स्थापना भएको लाप्राकका साथी(लेजामी डि लाप्राक)ले गोरखाको धार्चे गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकामा करिब एकदर्जन विद्यालय निर्माण गरेको छ । २० बर्षअघि स्थापना भएको सो संस्थाले सुरुमा लाप्राकको तत्कालीन मणिकामदेवी प्राथमिक विद्यालयको भवन बनाउने, नीजिस्रोतमा शिक्षक राख्न तलब दिने, कापी, कलम, झोला, पोशाक दिएर कार्यक्रम सुरु गरेको थियो । त्यसयता धार्चे गाउँपालिकाभरिका विद्यालय निर्माण, शिक्षक तलब दिने काम गरिरहेको छ ।
दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा काम गरेको २० बर्ष पूरा भएको अवसरमा गत शनिबार लाप्राकका बासिन्दाले लेजामी डि लाप्राकका २२ जना फ्रान्सेलीलाई सम्मान गरेका छन् ।
नेपालका पहिलो अन्तर्राष्टिूय पर्वतारोहण पदप्रदर्शक लाप्राक निवासी सुनार गुरुङले सन् १९९८ मा फ्रान्सका पर्यटकको टोलीलाई लाप्राक भ्रमणमा लिएर आए । त्यतिबेला टोली नेता क्रिश्चियोंले लाप्राकका कलिला बालबालिका शिक्षाबाट बञ्चित भएको देखे ।
‘म लाप्राक पहिलो पटक सुनार र केहि फ्रान्सेली साथीहरुसँग अप्रिल १९९८ मा आएको हुँ । पहाडको काखमा रहेको सुन्दर गाउँ र त्यहाँका हँसिला केटाकेटीमाथि मेरो मन बस्यो, जो स्कुल नियमित जान सक्दैन थिए’ २० बर्षे बर्षगाँठ कार्यक्रममा बोल्दै क्रिश्चियोंले भने ‘त्यसपछि हामीले लाप्राकका साथीहरु भन्ने संस्था दर्ता गरी गरिब १५ जना केटाकेटीलाई स्कुल पठाउने स्पोन्सर कार्यक्रम सुरु ग¥यौँ ।’ दुर्गम भेगको शिक्षा क्षेत्रमा काम गर्न स्थापित सो संस्थामा अहिले सातसय जना फ्रान्सेली नागरिक आवद्ध छन् । स्थानीय स्तरमा साझेदारी सुनार गुरुङको अग्रसरतामा गणेश हिमाल एशोसिएशन नामक गैरसरकारी संस्था स्थापना भएको छ ।
लाप्राकको मणिकामदेवि माध्यामिक विद्यालयमा १५ विद्यार्थीलाई स्पोन्सर गरेर सुरुवात भएको सहयोग कार्यक्रम अहिले सो क्षेत्र आसपासका विद्यालयमा पनि छरिएको छ । मणिकामदेवी प्राबिलाई माध्यमिक तहसम्म स्तरोन्नती गर्न पहल गरे । बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन लेजामी डि लाप्राकले विद्यालयको भवन, प्रयोगशाला, छात्रावास निर्माण, शिक्षक तलब लगायत विद्यार्थीलाई स्टेशनरी, पोशाक वितरणका कार्यक्रम गर्दै आएको छ ।
गणेश हिमाल एसोसियसनसँगको सहकार्यमा संस्थाले लाप्राक, गुम्दा, लप्सिबोट, उहिया, बालुवा, मान्द्रे, बारपाक, केरौजा, रुन्चेत, माछाखोला, थला र खोर्लामा विद्यालय भवन निर्माण गरेको थियो । संस्थाले सन् २०१५ सम्म विभिन्न विद्यालयमा पाँचकरोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको काम गरिसकेको थियो । फ्रान्समा नेपाली खाना बनाएर च्यारीटीका कार्यक्रम गरी संकलन भएको रकम उनीहरुले गणेश हिमाल मार्फत विद्यालयमा पठाउदै आएका छन् । सँधै सहायता दिँदा स्थानीयबासीमा परनिर्भरता बढ्दै जाने भएकाले संस्था बन्द गरेर आफ्ना कार्यक्रम स्थानीय निकायलाई जिम्मा लगाउने योजना बनाउँदा सन् २०१५ मा विनाशकारी भुकम्प गयो । उनीहरुले निर्माण गरेका सबै संरचना तहसनहस भए । फेरि संस्थाले उपलब्ध गराएको ५० लाख ७० हजार रुपैयाँ बराबरको सहयोगले स्थानीयलाई राहत वितरण लगायतका काम गरेको गणेश हिमाल एसोसियसनका अध्यक्ष सुनार गुरुङले बताए ।
ध्वस्त भएको लाप्राकको मणिकाम देवी मावि, गण्डकी मावि आर्खेत, पार्वती प्रावि लगायतका विद्यालयमा अस्थायी टहरा तथा फर्निचरको ब्यबस्था र हिमालय मावि बारपाकमा छात्राबास मर्मत गरेको एसोसियसनका अध्यक्ष गुरुङले बताए ।
हाल संस्थाको आर्थिक सहयोगमा धार्चे गाउँपालिकामा चार विद्यालयको पक्की भवन यसै आर्थिक बर्ष निर्माण हुँदैछ । मणिकामदेवी मावि, सूर्योदय मावि, जनजागृति आधारभूत विद्यालय र सातकन्या देवी माविमा ३३ कोठाको ११ वटा पक्की भवन निर्माण भैरहेको एसोसिएसनका अध्यक्ष सुनार गुरुङले बताए ।

‘फ्रान्सेली दाता हरेक बर्ष नेपाल आउनुहुन्छ’ उनले भने ‘सहयोग गरेको विद्यालयमा अबलोकन गर्नुहुन्छ, स्थानीय बासीसँग छलफल गर्नुहुन्छ र योजना छनौट गरी सहयोगको घोषणा गर्नुहुन्छ ।’
सुनार र क्रिस्चियोंको भेटले दुर्गमका बालबालिकाको भविष्य निर्माणमा सघाएको लाप्राकका मारसिंह गुरुङले बताए । ‘स्कुलको स्तरबृद्धिदेखि लुगा, किताब कापी सबै सहयोग पाएका छन्’ उनले भने ‘कुनाकाप्चामा सरकारको आँखा पुगेको छैन, लेजामीको सहयोगले बालबालिका पढ्न पाएका छन् । लेजामी हाम्रा लागि बरदान भएको छ ।’
दुई दशकदेखि निरन्तर सहयोग गरेको संस्था अब ५ बर्षमा बिघटन गर्ने निर्णय गरेको संस्थापक क्रिस्टिनले जानकारी दिए । ‘सन् २०२४ मा हाम्रो सबै उदेश्य पूरा हुन्छ’ उनले भने ‘लामो समयसम्म सहयोग गरिरहँदा स्थानीयबासीमा परनिर्भरता बढ्छ । आफ्नो ठाउँको विकास गर्न स्थानीयलाई बढि जिम्मेवार बनाउनुपर्छ । उनीहरुले हाम्रो अनुपश्थितिमा विद्यालय राम्रोसँग ब्यबस्थापन गर्न सक्नुपर्छ ।’
संस्थाले सहयोग गरेको २० औं बर्षको अबसरमा लाप्राकको मणिकामदेवी माध्यामिक विद्यालय मा शनिवार एक कार्यक्रमको आयोजना गरि खुसीयाली मनाईएको छ । क्रिश्चियों लगायतका २२ जना फ्रान्सेली नागरिक, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, सिटिइभिटीका डाइरेक्टर कुलबहादुर कुँबरलगायतले केक काटेर र नाचगान गरेर बीसौं बर्षगाँठ मनाएका हुन् । ‘मैले स्पोन्सर गरेको धनबहादुर गुरुङ यही स्कुलको प्रधानाध्यापक भएको थाहा पाउँदा धेरै खुसी छु । यसलाई मैले हाम्रो उपलब्धी सम्झिएको छु’ उनले भने ‘शिक्षा अत्यन्त जरुरी छ । यहाँका बच्चाहरु लाप्राकका भविष्य हुन् । हामीले निरन्तर उनीहरुलाई सहयोग गरेका छौं । खुसी र गर्व पनि छ । उनीहरुको भविष्य उज्ज्वल हुनेछ, जिवन सरल हुनेछ र आशाहरु अनगिन्ति हुनेछन् भन्नेमा विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस्