
बूढीगण्डकी प्रभावितको गुनासो सम्बोधन शुरु
किरण लोहनी ः बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान प्रभावितले दर्ता गरेका गुनासोको फस्र्यौट शुरु भएको छ । मुआब्जा वितरणका क्रममा चित्त नबुझेको भन्दै हालसम्म ९ शय ६ जना डुवान प्रभावितले गुनासो दर्ता गराएका छन् । उनीहरुको गुनासोको अध्ययन गरि फस्र्यौट शुरु गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले जनाएको छ । इकाईले गुनासो सम्बोधनका लागि छुट्टै कार्यदल बनाएको थियो । दर्ता भएका मध्ये पहिलो चरणमा २ शय ४ गुनासो फस्र्यौट गरिएको कार्यदलकी सदस्य सचीव हीरा आचार्यले बताइन् । ‘पहिलो चरणमा ३० प्रतिशत पुँजीगत लाभकर काटिएकाहरुको गुनासोको सम्बोधन गरिएको छ’ उनले भनिन्, ‘एकै परिवारभित्र जग्गा पास भएकाहरुको पनि पुँजीगत लाभकर काटिएको भन्दै गुनासो दर्ता भएकोमा २ शय ४ जनाको काटिएको लाभकर फिर्ता हुने गरि निर्णय छ ।’ आयोजनाले डुवान प्रभावितले प्राप्त गरेको मुआब्जा रकममा ३० प्रतिशत पुँजीगत लाभकर काट्ने गरेको छ ।
तर एकाघरमा राजिनामा पास गरेका र बकसपत्र लिखतबाट जग्गा पास गरेकाहरुको पनि पुँजीगत लाभकर काटिएको थियो । ‘उनीहरु एकैघरका हो होइन भनेर अध्ययन ग¥यौं, काटिएको लाभकर फिर्ता गर्नुपर्नेको विवरण सहित आयोजनाको इकाईमा सिफारिस गरेका छौं ।’ सदस्य सचीव आचार्यले जानकारी दिइन् । दोस्रो चरणमा जग्गाको किसिम फरक परेर मुआब्जा वितरण भएकाहरुको गुनासो अध्ययनको काम शुरु गरिएको कार्यदलका संयोजक एवम् जिल्ला प्रशासन कार्यालयका अधिकृत गौतम भण्डारीले बताए । मुआब्जा वितरण गर्ने क्रममा प्रभावित क्षेत्रका बासिन्दाले करकट्टी हुनु नपर्ने जग्गाको पनि कर काटेर मुआब्जा दिइएको, ३० प्रतिशत कर काट्न नपर्ने जग्गाको पनि करकट्टी गरिएको, सडक छेऊमा घर भएर पनि सो अनुसारको मुआब्जा नपाएको जस्ता गुनासो दर्ता गराएका छन् ।
जग्गाको किसिम फरक पारेर मुआब्जा दिइएको गुनासो धेरै दर्ता भएको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए । कार्यदलले गुनासोको अध्ययनका साथै आवश्यक परेमा थप छानविन पनि गर्न सक्ने उनले जानकारी दिए । गुनासोकर्ताले दर्ता गराएको निवेदन, मुआब्जा निर्धारण समितिको निर्णय, जग्गा प्राप्ति ऐन, डुवानक्षेत्रको अध्ययन लगायतका आधारमा गुनासो सम्बोधनको प्रयास गर्ने कायदलका संयोजक प्रशासकीय अधिकृत भण्डारीले बताए ।




