
सरकारी स्कूलका विद्यार्थीलाई पोशाक र खाजाको ब्यबस्था
सिरानचोक गाउँपालिका ६ गाँखुको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ४ सम्मका विद्यार्थीले निशुल्क खाजा र पोशाक पाउने भएका छन् । सिरानचोक गाउँपालिका ६ को संसारी महेन्द्र मावि, हिमाली मावि, कृष्णज्योती मावि, नाम्रुङ आधारभुत विद्यालय, कामधेनु प्रावि र हनुमान प्राविमा कक्षा ४ सम्मका विद्यार्थीले निशुल्क खाजा र पोशाक पाउने भएका हुन् । वडा कार्यालय र सम्बन्धित विद्यालयको संयुक्त लागतमा विद्यार्थीलाई निशुल्क खाजा र विद्यालय पोशाक दिईने भएको हो ।
शैक्षिक सत्र २०७६ बाट सामुदायिक विद्यालयमा अध्ययन रत ई सि डी देखि कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीलाई निशुल्क खाजा र पोशाक दिने निर्णय भएको वडा अध्यक्ष नारायण दानीले जानकारी दिए ।
‘सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न यो कार्यक्रम ल्याएका हौं’ उनले भने ‘गतबर्ष कक्षा ३ सम्मका विद्यार्थीलाई खाजा र पोशाकको ब्यबस्था थियो । यो बर्ष कक्षा ४ का विद्यार्थीलाई पनि दिने निर्णय भएको छ ।’
विद्यार्थीहरुको मनोविज्ञानमा असर नपरोस भनेर पनि यो कार्यक्रम ल्याएको उनले जानकारी दिए । ‘आर्थिक अबस्था राम्रो भएकाले नयाँ कक्षामा नयाँ डूेस सिलाउछन्, टिफिन बोकेर आउँछन्’ उनले भने ‘आर्थिक अबस्था कमजोर भएकाले खाजा पनि पाउँदैनन्,डूेस फेर्न सक्दैनन्, यसले विद्यार्थीहरुमा हिनताबोध हुनसक्छ । त्यसैले उनिहरुको मनोविज्ञानमा असर नपरोस भनेर खाजा र पोशाकको ब्यबस्था गरेका हौं ।’
गरिबीका कारण बालाबालीकाको पढाईमा असर नपरोस भनेर यो कार्यक्रम सञ्चालन गरेको उनले स्पष्ट पारे ।
विद्यालय पोशाक र खाजाको ब्यबस्थाले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन, बालमैत्री सिकाईको माध्यामबाट विद्यालय प्रति आकर्षित गराउन र नियमित विद्यालय आउने वातावरण बनाउन मद्धत पुगेको विद्यालयहरुले जनाएका छन् ।
यो कार्यक्रमले सिकाई उपलब्धी बढाउन मद्धत पुगेको संसारी माविका शिक्षक उपेन्द्र देवकोटाले जानकारी दिए ।
‘बालमैत्री शिक्षणकै सिलसिलामा खाजा र पोशाक वितरण गर्ने भएका हौं’ उनले भने ‘गतबर्ष यहि कार्यक्रम चलेपछि कक्षा छाडेर नपढी बसेकाहरु पनि पढ्न आए, २०÷३० जना विद्यार्थी बढे । बोर्डिङ पढेकाहरु पनि हाम्रा स्कुलतिर आउन थाले ।’ दिवाखाजाले विद्यार्थीको शारीरीक र मानसिक विकासमा पनि सघाएको उनले बताए । ‘विद्यार्थी को सिक्ने क्षमता बढाउन पोषिलो खानेकुरा चाहिन्छ’ उनले भने ‘भोको पेटमा बच्चाले पढ्न, सिक्न सक्दैनन् । सबैको घरमा एकै प्रकारको पोषिलो खानेकुरा नहुन सक्छ । हामीले विद्यालयमा नै खाजा पकाएर खुवाउँछौ । यसले उनिहरुलाई शारीरीक र मानसिक रुपमा स्वस्थ्य रहन सघाएको छ ।’ खाजा र पोशाक निशुल्क पाउने भएपछि अभिभावकहरु बालबच्चा विद्यालय पठाउन उत्साहित भएका छन् ।
विद्यालयमा खाजा र पोशाक को ब्यवस्थापन भएपछि खाजा बनाउने समय र खर्चको बचत हुने भन्दै अभिभावक खुसी भएका हुन् ।
खाजा र पोशाकका लागि वडा कार्यालयले दुई बर्षयता बर्षेनी पाचँ लाख रुपैयाँ विनियोजन गरेको छ । अपुग रकम सम्बन्धित विद्या लयबाट थप गरिने वडाअध्यक्ष दानीले जानकारी दिए ।




