| शुक्रबार, साउन २८, २०८३

चैते दशैंमा गोरखकाली र मनकामनामा भक्तजनको घुईचो

आज चैते दशैँ र रामनवमी पर्व मनाइँदैछ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा दुईपटक मनाउने गरिन्छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तिथिका कारण रामनवमी पर्व पनि आजै मनाईंदैछ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।
चैतेदशैँको अवसरमा गोरखाको गोरखकालि र मनकामना मन्दिरमा श्रद्धालु भक्तजनको घुईचो लागेको छ । प्रसिद्ध धार्मिकस्थलका रुपमा चर्चित कालिका र मनकामना मन्दिरमा पूजापाठ गन, बली चढाउने तथा दशैंका अबसरमा घुम्न आउनेको घुईचो लागेको हो। दुबै मन्दिरमा पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले विभिन्न पशुपक्षीको बलि दिने चलन पनि छ।
मन्दिरमा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको भीड लागेपछि लाईनको ब्यबस्था गरि पूजाआजा गर्ने व्यवस्था मिलाईएको गोरखकाली मन्दिरका पुजारी हरीबाबु अर्यालले जानकारी दिए । गोरखकालीमा करीब ५ हजार दर्शनार्थीले पुजाआजा गरेका छन् । भक्तजनले करीब ३ सय बली चढाएका पुजारी अर्यालले बताए ।
सरकारी स्तरबाट गोरखकालीमा आज ५ रागाँ, ५ भेडा र २ बोका बली चढाईएको उनको भनाई छ । विहानै मन्दिरको कैलाश कोठाबाट पुजा कोठामा भगवतीलाई सारेर पुजाआजा शुरु गरिएको थियो । साझँको साईतमा पुजा विसर्जन गरी फेरी भगवतीलाई कैलाश कोठामा राखिने उनले जानकारी दिए ।
गोरखकाली र मनकामना मन्दिरमा नेपालका विभिन्न स्थानलगायत भारतबाट पनि दर्शनार्थी आएका छन्। चैतेदशैँको आज मुख्य दिन भएका कारण हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन मन्दिर दर्शनका लागि आएका हुन्। चैतेदशैको अबसरमा बारपाक सुलिकोट गाउँपालिकाको स्वाँरास्थित सीतागुफामा पनि मेला लागेको छ ।

प्रतिक्रिया दिनुहोस्