| आइतवार, कार्तिक २२, २०८३

बुढीगण्डकी आयोजनाका लागि ३० अर्ब बढी कर संकलन

 

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै सरकारले चालू आर्थिक वर्षको ८ महिनामा मात्रै पेट्रोलियम पदार्थबाट झण्डै ८ अर्ब रुपैयाँ पूर्वाधार कर संकलन गरेको छ । पेट्रोलियम पदार्थ आयातबाट मात्र सरकारले हाल सम्म सो आयोजनाका लागि २९ अर्ब रुपैयाँ ८३ करोड ४६ लाख रुपैयाँ बढी संकलन गरिसकेको छ । १ हजार २ सय मेगावाट विद्युत उत्पादन क्षमताको सो आयोजना निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा ७ अर्ब ८८ करोड ५२ लाख ४३ हजार १ सय ६० रुपैयाँ पूर्वाधार कर संकलन गरेको नेपाल आयल निगमले जनाएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा ११ अर्ब ३५ करोड ८१ लाख ७९ हजार ५ सय १०, आर्थिक वर्ष २०७३/७४ मा ९ अर्ब ४२ करोड ७६ लाख ९३ हजार ६ सय रुपैयाँ पूर्वाधार कर असूल गरेको निगमले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १६ करोड ३५ लाख ४६ हजार ७ सय १५ रुपैयाँ पूर्वाधार कर संकलन भएको थियो । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट भाषण मार्फत बुढीगण्डकी निर्माणका लागि लगानी जुटाउन पेट्रोलियम पदार्थको आयातमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर उठाउने घोषणा गरेको थियो । भन्सार विभागले २०७३ जेठ १६ गतेदेखि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर उठाउन सुरु गरेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । पेट्रोल, डिजेल र हवाई इन्धनको आयातमा भन्सारबाटै सो कर लिने गरिएको निगमले जनाएको छ । सो आयोजनाको लागत करीब दुई खर्ब ६३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्