
शहीद लखन गाउँपालिकाद्वारा शिक्षक दरबन्दी मिलान
गोरखाको शहीद लखन गाउँ पालिकाले प्राथमिक तहमा शिक्षक दरबन्दी मिलान सम्पन्न गरेको छ । गाउँपालिकाको शिक्षा समितिको सिफारिसका आधारमा गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रावि तहमा दरबन्दी मिलान कार्य सम्पन्न गरेको हो ।
गाउँपालिका आफैंले तयार पारेको विद्यालय समायोजन तथा दरबन्दी मिलान सम्बन्धी मापदण्ड २०७५ अनुसार सामुदायिक विद्यालयमा दरबन्दी मिलान गरिएको शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले जानकारी दिए ।
‘विभिन्न दश विद्यालयका १५ दरबन्दी कटौती गरी अन्य विद्यालयमा दरबन्दी थप गरेका छौं’, उनले भने, ‘शिक्षक, विद्यार्थीको अनुपात मिलाएर विद्यार्थीको तुलनामा शिक्षक बढि रहेको विद्यालयबाट दरबन्दी झिकेर कम शिक्षक रहेको विद्यालयमा थपेका हौं ।’
शिक्षक दरबन्दी मिलान अनुसार भगवती हिमालय, चण्डिका आधारभुत विद्यालय, मनकामना माध्यमिक विद्यालय, सुन्तलाबारी प्राथमिक विद्यालय र लक्ष्मी प्राथमिक विद्यालयबाट दुई÷दुई वटा प्रावि तहको दरबन्दी कटौती गरिएको छ । यस्तै, जनशक्ति माध्यमिक विद्यालय, भीमसेन प्राथमिक विद्यालय, भुवनेश्वरी प्राथमिक विद्यालय, सिलिङटार प्राथमिक विद्यालय र दहाले प्राथमिक विद्यालयको एक÷एक वटा दरबन्दी कटौती गरिएको छ । यी विद्यालयबाट कटौती गरिएका दरबन्दी अन्य विद्यालयमा थप गरिएको छ । मण्डली प्राथमिक विद्यालय, पिपला पोखरी आधारभुत विद्यालय, रामेश्वरी मावि, महारुद्र आधारभुत विद्यालय, गण्डकी प्राथमिक विद्यालय र बक्रेश्वरी माध्यमिक विद्यालयमा एक÷एक वटा दरबन्दी थप गरिएको छ । यस्तै, हिमालय माध्यमिक विद्यालय,सरस्वती आधारभुत विद्यालय, सिद्धस्थानी माध्यमिक विद्यालय र जलदेवी माध्यामिक विद्यालयमा दुई÷दुई वटा दरबन्दी थप भएको छ । दरबन्दी मिलानका क्रममा कटौती गरिएका १५ दरबन्दीमध्ये एक दरबन्दी गाउँपालिकाको पुल दरबन्दीमा राखिएको छ । दरबन्दी मिलान अनुसार आठ दरबन्दीमा शिक्षक नियुक्त गर्नुपर्ने शिक्षा शाखा प्रमुख परियारले जानकारी दिए । ‘आबश्यक प्रक्रिया पूरा गरेर करारमा शिक्षक राख्न पाइन्छ’ उनले भने ‘दरबन्दीमा स्थायी शिक्षक आएपछि उहाँहरु जानुहुन्छ ।’
दरबन्दी मिलान गरेसँगै गाउँपालिकाको प्राथमिक तहमा एक शिक्षक बराबर १५ विद्यार्थी रहने भएका छन् । चारहजार दुई सय २ विद्यार्थीका लागि दुई सय ६८ शिक्षकको दरबन्दी कायम गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख परीयारले जानकारी दिए ।
यसअघिको जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलानको काम थालेपनि कार्यालय खारेज भएर समन्वय इकाईमा रुपान्तरण भएपछि शहीद लखन गाउँपालिका आफैंले कार्यविधि बनाएर आन्तरिक रुपमा दरवन्दी मिलान गरेको हो । प्राथमिक तहको दरबन्दी मिलान गरेपनि आधारभुत र माध्यामिक तहमा भने दरबन्दी अपुग रहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।




