
छेकम्पारमा मृत अबस्थामा भेटियो हाब्रे
मनास्लु संरक्षण क्षेत्रमा पहिलो पटक हाब्रे (रेड पाण्डा) भेटिएको छ । जैविक विविधताका लागि धनी मानिएको मनास्लु संरक्षण क्षेत्रमा हिमचितुवा, खैरो भालु, हिमालयन थार लगायतका वन्य जन्तुको राम्रो वासस्थान हो। यहाँ रेड पाण्डा भने पहिलो पटक भेटिएको हो ।
अनुसन्धानका क्रममा मनास्लु संरक्षण क्षेत्र रेड पाण्डा लगायत वन्य जन्तुका लागि उपयुक्त स्थल भएको निक्यौल गरे पनि रेड पाण्डा देखिएको थिएन । मनास्लु क्षेत्रको छेकम्पारको फुचुङ वन क्षेत्र रेड पाण्डाका लागि उपयुक्त स्थान भएको बताइन्छ ।
मनास्लु संरक्षण क्षेत्रको छेकेम्पारको फुचुङ वन क्षेत्रको गोठमा स्थानीयले मृत अवस्थामा रेड पाण्डा भेटेर फोटो पठाएको मनास्लु संरक्षण क्षेत्रका प्रमुख नरेन्द्र लामाले बताए। यसको मुचुल्का हुन भने बाँकी नै रहेको लामाले सुनाए ।
स्थानीय मिङमार लामाले मृत अवस्थामा रेड पाण्डा भेटेरे तस्बिर खिचेपछि मनास्लु संरक्षण क्षेत्रमा पहिलो पटक रेड पाण्डा रहेको पुष्टि भएको हो ।
मनास्लु संरक्षण क्षेत्रको ३६ सय मिटर उच्च क्षेत्रमा रेड पाण्डा भेटिएको उनले सुनाए। मृत रेड पाण्डाको मुचुल्का गरेर थप अनुसन्धान गरिने मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख लामाले बताए । फुचुङ क्षेत्रको वनमा नियालो, धुपी, सल्लाको जंगल क्षेत्र रहेको छ । लामो समय ठूलो हिमपात परेकोले गोठभित्र पसेको रेड पाण्डा आहारा नपाएर र निसासिएर मरेको हुन सक्ने अनुमान गरिएको छ । यस क्षेत्रमा रेड पाण्डाको थप अनुसन्धान र संरक्षणको काम गरिने लामाले बताए । मनास्लु संरक्षण क्षेत्रमा वन्यजन्तुको सर्वेको काम पनि छिट्टै हुने उनले जानकारी दिए ।




