
पालुङ्टार नगरपालिका र शहीद लखन गाउँपालिकास्तरीय परीक्षाको नतिजा सार्बजनिक
गोरखाको शहीद लखन गाउँपालिकाले कक्षा ८ को गाउँपालिका स्तरीय परिक्षाको नतिजा सार्व जनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार ३.६ देखि चार जिपिए ल्याउने विद्यार्थीको संख्या ७ मात्रै छ ।
फागुन २९ गतेदेखि चैत २९ गते सम्म सञ्चालित परिक्षाको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको हो । गाउँपालिका भित्रका १७ विद्यालयका चार सय आठ जना विद्यार्थी सहभागी परीक्षामा २१ विद्यार्थीले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । २.८ देखी ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ५३ रहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै, एक सय ४० जनाले २.४ देखी २.८ जिपिए ल्याएका छन् । ५३ जनाले २ देखी २.४ जिपिए र ३१ जनाले १.६ देखी २ जिपिए ल्याएका छन् । एक सय ९९ जनाले डि प्लस र सो भन्दा माथिको ग्रेड प्राप्त गरेका छन् । नतिजा अनुसार गाउँपालीकाको कक्षा ८ को औसत जिपीए २.५३ हुन आउने शिक्षा शाखाका प्रमुख दिपेन्द्र परीयारले बताए । ‘औसत उपलब्धी समग्रमा कमजोर देखियो’ उनले भने ‘ १२ जना ग्रेड बृद्धिमा समेत सहभागी हुन नपाउने भएका छन् । डि प्लस भन्दा कम ग्रेड प्राप्त गर्ने १९७ जना छन् ।’ ति एक सय ९७ विद्यार्थी ग्रेडवृद्धिमा सहभागी हुन पाउनेछन् । उनिहरु बढिमा २ विषयमा ग्रेडबृद्धिका लागि बैशाख १४ र १५ गते हुने परिक्षामा सहभागी हुन सक्ने शिक्षा शाखा प्रमुख परियारले बताए । एस ई ई मा सहभागीताका लागि कक्षा ९ मा रजिस्टेशन फारम भर्न विषयगत रुपमा डि प्लस भन्दा माथिल्लो ग्रेड प्राप्त गर्नुपर्ने प्राबधान अनुसार थोरै विद्यार्थीको मात्र रजिस्टेशन फारम भर्न पाउने अबस्था देखिएको छ ।

नतिजा अनुसार औसतमा ३.०१ जिपिए ल्याएको पिपलापोखरी आधारभुत विद्यालय घैरुङ उत्कृष्ट र औसतमा २.२३ जिपिए ल्याएको सिञ्जाली मावि ताक्लुङ कमजोर देखिएको छ । उत्कृष्टलाई प्रोत्साहन पुरस्कार र कमजोरलाई शिक्षण सिकाई सुदृढिकरण अनुदान उपलब्ध गराईने गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताए । गाउँपालिकाले ३ बर्षे विद्यालय शिक्षा सुधार अभियान मार्फत शिक्षण र सिकाईलाई प्रभावकारी बनाउने उनको भनाई छ ।
पालुङटार नगरपालिकाले कक्षा ५ र ८ को नगरस्तरीय परिक्षाको नतिजा प्रकाशीत गरेको छ । नतिजा अुनसार समग्र सिकाई उपलब्धी ४.१ प्रतिशतले वृद्धि भएको पाईएको शिक्षा शाखाका महेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार ३८ विद्यालयका ८२१ विद्यार्थी सहभागी कक्षा ८ को परीक्षामा दश विद्यार्थीले कक्षा दोहोराउनुपर्ने भएको छ । परिक्षामा युनाईटेड बोर्डिङ स्कुलका विद्यार्थीले सबैभन्दा धेरै ३.८८ जिपिए ल्याएका छन् ।
सात सय ५५ परिक्षार्थी सहभागी कक्षा ५ को परीक्षामा २० जना बाहेक सबै उत्तिण भएका शिक्षा शाखाले जनाएको छ । फागुन २७ देखी चैत ६ गतेसम्म नगरस्तरीय परीक्षा सञ्चालन भएको थियो ।




