
गिटी, बालुवा सम्बन्धी ५ घण्टासम्म चलेको छलफल निश्कर्षबिहिन
दरौंदी : गोरखामा नदीजन्य सामाग्री उत्खनन सम्बन्धी समस्या समाधानका लागि बिहिबार बसेको सरोकारवालाको बैठक विनानिष्कर्ष सकिएको छ । नदीजन्य सामाग्री उत्खननका लागि मेसिन प्रयोगका सम्बन्धमा जिल्ला समन्वय समितिमा बिहिबार करीब पाँच घन्टा चलेको छलफलले ठोस निष्कर्ष निकाल्न नसकेको हो ।
संघ तथा प्रदेश सरकारको नदीजन्य सामाग्री उत्खनन सम्बन्धी कार्यविधिमा मेसिन प्रयोगका सन्दर्भमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आईई)मा उल्लेख भएअनुसार गर्ने उल्लेख छ । आईईमा उल्लेख भएअनुसार जिल्ला अनुगमन समितिले नदीजन्य सामग्री उत्खननमा मेसिन प्रयोग गर्न रोकेपछि लामो समयदेखि उत्खनन हुन सकेको छैन ।
गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, अजीरकोट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका गण्डकी गाउँपालिका, एघारकिलो छेपेटार, भालुस्वाँरा बारपाक सडक योजना कार्यालय र एडिबी अन्तर्गतको धादिङवेशी आरुघाट गोरखा सडक आयोजनाले मेसिन प्रयोग गरी नदीजन्य सामग्री उत्खनन गर्न पाउँ भन्दै जिल्ला अनुगमन समितिमा निवेदन दिएका थिए ।
स्थानीय तह र सडक आयोजनाको निवेदनपछि केहि दिनअघि बसेको जिल्ला अनुगमन समितिको बैठकले उपयुक्त निकास निकाल्नका लागि जिल्ला समन्वय समितिलाई आग्रह गरेको थियो ।
तर समितिले यस विषयमा ठोस निर्णय गर्न सकेन । समितिले नदीजन्य सामग्री उत्खनन्का लागि अनुमति दिनुअघि आईई प्रतिबेदन सिफारिस गर्न जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्यायको संयोजकत्वमा बनेको समितिलाई उपयुक्त निकासका लागि आग्रह गरेको थियो । तर विहिबार बसेको आईईई प्रतिवेदन सिफारीस समितिको बैठकले पनि ठोस निष्कर्ष निकाल्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए ।
यसअघि लामो समयसम्म निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विकास निर्माणको काम अबरुद्ध भएको भन्दै उत्खनन गर्न सहज वातावरण बनाउने निर्णय भएको थियो । निर्णय भएको एकसाता बितिसक्दा पनि सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।




