| आइतवार, कार्तिक २२, २०८३

कैदीबन्दीले बनाएको मुढाले बजार पाएन

अनुपमा खनाल :
बिक्री नभएपछि कैदीबन्दीले बनाएको मुढा गोरखा कारागारमै थन्किएको छ । दुई महिनादेखि मुढाको बिक्री हुन छोडेको कारागारका चौकीदार गोपाल बरामले बताए ।
‘महिनामा करीब पाँच सयवटा मुढा बिक्री हुन्थ्यो’, उनले भने, ‘अहिले महिनामा एक(दुई सय पनि बिक्री भएको छैन ।’ बसपार्कका हरी श्रेष्ठ र बिसौनीमोडका धर्मेन्द्र श्रेष्ठ मार्फत कैदिबन्दीले बजारमा मुढा बिक्री गर्थे । तर पछिल्लो समय बजारमा माग नभएको भन्दै उनीहरुले मुढा लैजान छाडेका चौकीदार बरामले जानकारी दिए । मुढा बिक्री हुन छाडेपछि कैदिबन्दीले बनाएको करीब पाँच सय मुढा कारागारमै थन्किएको छ । ३५ जनाको क्षमता रहेको गोरखा कारागारको पुरुष कक्षमा हाल ९३ जना राखिएकाले थप मुढा बुनेर भण्डारण गर्न समस्या हुँदा कैदीबन्दीले मुढा बुन्न छाड्न थालेका चौकीदार बरामले बताए । ‘बजार नपाएपछि मैले नै अहिले काम रोक्नु भनेको छु’ उनले भने ‘यहाँ मुढा बुनेर राख्ने ठाउँ छैन । पानी प¥यो भने कुहिन्छ त्यसैले स्टक मुढा बेचेपछि बनाउँला भनेको छु ।’ कैदिबन्दीले मुढा बुनेर मासिक न्युनतम ५ हजारदेखि अधिकतम २० हजारसम्म आम्दानी गर्दै आएका थिए । तर अहिले मुढा विक्री नहुँदा आम्दानी पनि घटेको चौकीदार बरामले बताए ।
दुई दिनमा एउटा मुढा तयार गर्दै आएका चेतबहादुर भुजेलले अहिले काम रोकेको बताए । ‘एउटा मुढामा करीब दुई सय नाफा हुन्थ्यो’, उनले भने, ‘आफुलाई चियापानी खान पुग्थ्यो, जहान परिवार भेट्न आउँदा केटकेटीलाई दुई चार सय हातमा राख्दिन पाईन्थ्यो । अहिले त पैसा नै परेको छैन ।’ कारागारमा करीब ६० कैदीबन्दीले मुढा बुन्दै आएका छन् । तर काम नपाएपछि अहिले धेरैजसो क्यारेमबोर्ड खेलेर दिन कटाउने गरेका सुर्यबाबु आचार्यले बताए ।
उनीहरुले तयार पारेको मुढा चार सयदेखि सातसय रुपैयाँसम्म र बाँसको डाईनिङ टेबल दश हजारदेखि १६ हजार रुपैयाँसम्ममा विक्री गर्छन् । साईज अनुसार मुढाको मुल्य फरक फरक रहेको चौकीदार बरामले बताए । ‘हामीले बनाएको मुढा बजारको तुलनामा बलियो छ’, उनले भने ‘बजारमा पाईने ३÷४ बर्ष टिक्ला, हामीले बुनेको मुढा कम्तिमा ७÷८ बर्ष टिक्छ ।’ कारागारमा नै आउने ग्राहकलाई बजारको तुलनामा कम मुल्यमा बिक्री गरिने पनि उनले बताए ।
मुढा बनाउन डोरी, टायर, रङ्ग, सिन्का आबश्यक पर्छ । तीमध्ये सिन्काका लागि बाँस मात्रै गोरखाको विभिन्न गाउँबाट सहयोगीको भरमा ल्याउने गरेको चौकीदार बरामले बताए । अन्य सामाग्री गोरखा बजार सहित चितवन, विरगञ्ज, पोखरा लगायतका शहरबाट ल्याउने ब्यबस्था मिलाईएको छ । कैदीबन्दीले बनाएका मुढा बिक्रीका लागि बजार ब्यबस्थापनमा पहल गर्ने कारागारका प्रमुख डिल्ली श्रेष्ठले बताए । ‘यहाँको बजारमा त्यति खपत छैन’ उनले भने ‘बाहिरका बजारमा पनि बुझ्छौ ।’

प्रतिक्रिया दिनुहोस्