
नदीजन्य सामग्री उत्खननको बाटो खुल्यो, अब सहज उत्खनन हुने
दरौंदी समाचारदाताः लामो समयदेखि अवरुद्ध रहेको नदीजन्य सामग्री उत्खनन सम्बन्धी समस्या समाधान हुने भएको छ । जिल्ला अनुगमन समितिको बिहिबार बसेको बैठकले ‘समस्याको स्थायी समाधान गर्ने’ निर्णय गरेको समितिका सदस्य सचिव एवं जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।
स्थायी समाधानको उपायको बारेमा भने उनले खुलाउन चाहेनन् । ‘अहिलेलाई यति मात्र बुझ्नू हामीले गहन छलफल गरी स्थायी निकास खोज्ने निर्णय गरेका छौं’, उनले भने, ‘एक दुई दिनमा नतिजा देखिन्छ ।’
यसअघि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन(आईई)मा उल्लेख भएअनुसार समितिले नदीजन्य सामग्री उत्खननमा मेसिन प्रयोग गर्न रोक लगाएको थियो । अनुगमन समितिको रोकपछि लामो समयदेखि उत्खनन हुन सकेको थिएन । उत्खनन हुन नपाउँदा पुनर्निर्माण तथा विकास निर्माणका काम प्रभावित हुन थालेको थियो ।
काम प्रभावित भएको भन्दै ठेकेदारहरुले मेसिन लगाएर निर्माण सामग्री उत्खनन गर्न पाउनु पर्ने माग राख्दै आएका थिए । उनीहरुको आग्रहअनुसार बिभिन्न राजनीतिक पार्टीका नेतालेसमेत मेसिन प्रयोग गर्न छुट दिन अनुगमन समितिलाई आग्रह गरिरहेका थिए । साथै गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, अजीरकोट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका गण्डकी गाउँपालिका, एघारकिलो छेपेटार, भालुस्वाँरा बारपाक सडक योजना कार्यालय र एडिबी अन्तर्गतको धादिङवेशी आरुघाट गोरखा सडक आयोजनाले मेसिन प्रयोग गरी नदीजन्य सामग्री उत्खनन गर्न पाउँ भन्दै निवेदन दिएका थिए ।
लामो समयको अलमलपछि अनुगमन समितिको बैठक बसी समाधानको उपाय खोज्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश र स्थानिय सरकारको साझा अधिकार भित्र रहेको नदिजन्य सामाग्री उत्खनन सम्बन्धि ब्यबस्था अब संघिय सरकारले स्थानिय सरकारलाई दिने तयारी गरेको स्रोतले जनाएको छ ।




