
पालुङटारमा मदिरा नियन्त्रण अभियान
अनुपमा खनाल :
गोरखाको पालुङटार नगरपालिकाले मदिरा नियन्त्रणका लागि अभियान चलाएको छ ।
मदिराका कारण शान्ती सुरक्षा खल्बलिएको तथा हिंसाका घटना बढेको भन्दै नगरपालिकाले सान्त र सुरक्षीत समाज निर्माणका लागि मदिरा नियन्त्रण अभियान चलाएको हो ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीसँगको समन्वयमा टोल टोलमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उप मेयर पम्फा बसेलले बताईन् । ‘प्रहरीसँगको समन्वयमा वडा नं १, २ ३ र ४ मा जनचेतनामुलक कार्यक्रम गरीसक्यौं’ उनले भनिन् ‘ अरु वडामा पनि कार्यक्रम गर्छौ । मदिरा सेवनका कारण शरीर, परीवार र समाजमा पर्ने असरका बारेमा जानकारी गराएका छौं ।’ नगरपालिकाले कानुन अनुसार बैधानिक रुपमा मात्र मदिराको कारोबार गर्न ब्यबसायीलाई सचेत बनाएको प्रशासकिय अधिकृत हर्क रोकाले जानकारी दिए । ‘मदिरा बेच्नका लागि अनुमति लिएर ब्यबसाय दर्ता गर्नुपर्छ’ उनले भने ‘दर्ता भएका पसलले सरकारलाई कर बुझाएका मदिरा मात्र बेच्न पाईन्छ । ब्यबसाय ब्यबस्थित र समाज सुरक्षीत बनाउने हाम्रो उदेश्य हो ।’
मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रि वितरणका लागि छुट्टै ब्यबसाय दर्ता गरी कारोबार गर्न नगरपालिकाले सम्बन्धित सबै ब्यबसायीलाई सार्वजनिक सुचना मार्फत आब्हान गरेको छ ।

नगरपालिकाले बजार अनुगमन गरेर किराना तथा खाद्यान्न पसलहरुबाट नै मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रि गर्नेहरुलाई कारबाही प्रक्रिया थालेको प्रशासकिय अधिकृत रोकाले बताए । ‘हामीले अनुगमन पनि गर्छौ’ उनले भने ‘घरेलु मदिरा बिक्री रोक्न समस्या छ । तर हामीले छडके अनुगमन गर्दा होटलमा फेला पारेका घरेलु मदिरा पनि फाल्ने गरेका छौ ।’
घरेलु मदिरा नियन्त्रण गर्न चुनौती रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोसनदास पाण्डेले बताए । ‘कतिपय अबस्थामा संस्कार अनुसार पनि घरमै रक्सी पार्नुपर्ने हुन्छ’ उनले भने ‘यस्तो अबस्थामा हामीले रोक्न पनि मिलेन । तर ब्यबसायीक रुपमा रक्सी पार्नेहरुलाई पनि यो काम छाडेर अरु काम गर्नका लागि हामीले आग्रह गर्ने गरेका छौ ।’
महिलाको सीप तथा ब्यबसाय विकासका लागि नगरपालिकाले सघाउने भन्दै उपमेयर बसेलले घरेलु मदिरा नियन्त्रणमा सघाउन सबैलाई आग्रह गरेकी छिन् ।‘महिलाहरु रक्सी पार्नुहुन्छ, बेच्नुहुन्छ तर त्यहि रक्सी खाएकाले उहाँँहरुमाथि नै कुटपिट गर्छन्, हिंसामा पर्नुहुन्छ’ उनले भनिन् ‘रक्सी बेचेर गुजारा चलाउनेहरु ब्यबसाय परीवर्तन गर्नुहोस्, नगरपालिकाले महिलाको सीप तथा ब्यबसायका लागि सहयोग गर्छ ।’




