| आइतवार, कार्तिक २२, २०८३

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा अस्लील तस्वीर

जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक पेजमा अस्लील तस्वीरहरु पोष्ट भएको पाइएको छ । पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्वीरहरु पोष्ट भएको भेटिएको हो ।
सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्वीरहरु मंगलबार बिहानसम्म पनि यथावत रहेको छ ।
सो पेज सन् २०१६ देखि सक्रिय थिएन । सोमबार एक्कासी अस्लील तस्वीरसहित सक्रिय भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ । रातभरि सुत्न पनि पाएको छैन’, एसपी रावलले भने, ‘बिभिन्न ठाउँबाट फोन आइरहेका छन् । हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो ग¥यो भनेर पत्ता लगाउन लागिपरेकाका छौं ।’ सिआईबीको समेत प्रयोग गरिएको उनले बताए ।
यसअघि जिप्रका गोरखामा कार्यरतमध्य कसैले खोलेको सो पेजको पासवर्ड थाहा नहुँदा समस्या भएको उनले बताए । ‘कसले पेज खोलेको थियो, त्यो मान्छे पनि पत्ता लगाउन सकिएको छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्