| सोमवार, कार्तिक २३, २०८३

खाजा कार्यक्रमले बालबालिका सामुदायिक विद्यालयमा आकर्षित

केही बर्षअघिसम्म शहीदलखन गाउँपालिका ९ रामभञ्ज्याङको भीमसेन आधारभूत विद्यालयको आँगन हुदै गाउँका बालबालिका छिमेकी विद्यालयमा पढ्न जाने गर्थे । तर दिवा खाजाको ब्यवस्था गरेपछि गाउँकै विद्यालयमा भर्ना हुने र नियमित पढ्ने विद्यार्थीको संख्या बढेको शिक्षकहरुले बताएका छन् ।
विभिन्न दातृ संस्थासंग समन्वय गरी विद्यालयले २०७२ सालदेखि विद्यार्थीहरुलाई दिउँसोको खाजा खुवाउन थालेपछि विद्यार्थी भर्ना हुने विद्यार्थीको संख्या पनि बढेको र बीचै पढाइ पनि नछाड्ने गरेको हो । भूकम्पपछि विद्यालयलाई सहयोग गर्न आएको जर्मनीको किण्डर हिल्फे नामक संस्थाले खाजाका लागि आर्थिक सहयोग गर्दै आएको शिक्षक सुन्दरबहादुर विकले बताए । सो संस्थाले जगतचेत फाउण्डेशनसँगको सहकार्यमा दिवा खाजाका लागि आर्थिक सहयोग गर्दै आएको उनको भनाई छ । दिउँसोको खाजा विद्यालयमै उपलब्ध हुन थालेपछि बालबालिकाहरु नियमित रुपमा विद्यालय आउने गरेका शिक्षक विकले बताए ।
विद्यार्थीहरुलाई दिनैपिच्छे खाजाका फरक(फरक परिकार बनाएर खुवाउने गरिएको विद्यालयले जनाएको छ । ‘कहिले हलुवा, कहिले चिउरा तरकारी, कहिले चना अण्ड, चियार पाउरोटी दिने गरिएको छ’, शिक्षक भूमिनन्द ढकालले भने, ‘विद्यार्थीहरु बडो उत्सुक भएर आज खाजा केछ ? भनेर सोध्ने गर्छन् । दिउँसो एक बजेदेखि दुईबजेको अवधीमा नियमित रुपमा खाजा खुवाइन्छ । खाजा खुवाउन थालेपछि विद्यालय अवधिभरि बसेर पढ्छन् ।’
खाजाका लागि प्रतिविद्यार्थी दैनिक १५ रुपैयासम्म खर्च हुने गरेको उनले जानकारी दिए । संस्थाले खर्चको आधारमा अग्रिम एकमुष्ट रुपमा आर्थिक सहयोग गर्दै आएको जगतचेत प्रतिष्ठानका अध्यक्ष रामप्रताप थापाले बताए ।
३५ घरधुरी रहेको रामभञ्ज्याङबाट विद्यालयमा अहिले इसिडिदेखि पाँच कक्षासम्मका ५० विद्यार्थी पढ्न जाने गरेका छन् ।
खाजाको ब्यवस्था गर्नुअघि विद्यार्थी गयल हुने गरेपनि त्यसपछि भने नियमित रुपमा विद्यालय आउने गरेका अर्का शिक्षक खडानन्द ढकालले बताए । अभिभावकहरु पनि विद्यार्थीलाई विद्यालय पठाउन उत्साहित हुने गरेका उनको अनुभव छ । विद्यालयमा खाजाको ब्यवस्थापन भएपछि खाजा बनाउने समय र पकेटखर्चको बचत भएको अभिभावकहरुले बताएका छन् ।


सो संस्थाले भीमसेन आधारभूत विद्यालयमा पढ्ने १५ जना विद्यार्थीलाई बार्षिक बाह्र हजार रुपैंयाका दरले छात्रवृत्तिसमेत दिने गरेको छ । ‘यहाँ पढ्ने १५ जनालाई र यहाँबाट जनशक्ति मावि नाम्जुङमा पढ्न जाने १२ जनालाई छात्रवृत्ति दिने गरेका छौं’, अध्यक्ष रामप्रताप थापाले भने, ‘गाउँका सामुदायिक विद्यालयलाई प्रवद्र्धन गर्न हामीले वाल उद्यान बनाएका छौं । सुविधा सम्पन्न खेलमैदान निर्माणलगायतका सहयोग थप गर्दै जानेछौं ।’
वाल उद्यानमा खेल्न पाएपछि बालबालिकाहरु छुट्टी भएपछि पनि विद्यालयमै खेलेर बसिरहनु खोज्ने शिक्षकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्