
एसईईका परीक्षार्थी त्रिशुलीमा डुबेर वेपत्ता
माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएर नदीमा पौडी खेल्न गएका एक परीक्षार्थी त्रिशुली नदीमा डुबेर बेपत्ता भएका छन् ।
गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका वनटार निवासी १७ वर्षका कमलबहादुर चेपाङ सोमबार दिउँसो त्रिशुली नदीमा डुबेर वेपत्ता भएका हुन् ।
उनको परीक्षाकेन्द्र गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग मावि हो । विद्यालय नजिकै डेरा गरेर बसेका चेपाङ परीक्षा केन्द्रबाट सोमबारको अनिवार्य नेपाली विषयमा परीक्षा सकेपछि किनमेलका लागि भन्दै साथीहरुसंग धादिङको चरौंदी बजार हिँडेका साथीहरुलाई उद्धृत गर्दै स्थानीय दीपक तिमिल्सिनाले जानकारी दिए ।
दिउँसो पौडी खेल्न नदीमा पसेका उनी दिउँसो साढे १ बजेतिर बेनिघाट रोराङ ७ स्थित त्रिशुली नदी किनारबाट बेपत्ता भएका स्थानीय शिक्षिका भक्ति चेपाङले जानकारी दिइन् । प्रहरी, स्थानीय बासिन्दा र आफन्तले साँझसम्म खोजतलास गर्दा पनि बेपत्ता चेपाङलाई पत्ता लगाउन नसकिएको उनले बताइन् ।




