
धार्चेभित्रका कम्पनीहरुलाई छिटो निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिकाको आग्रह
गोरखा : धार्चे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन हुन लागेको हाइड्रोपावर कम्पनीहरुलाई यथासीघ्र विद्युत खरिद सम्झौता(पीपीए) गरेर काम अघि बढाउन आग्रह गरेको छ । गाउँपालिकाभित्र जलविद्युत आयोजनाका सञ्चालन गर्ने कम्पनीहरुको बुधबार सम्पन्न भेलामा गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले पीपीए छिटो गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा गाउँ कार्यपालिकाका पदाधिकारी तथा रिचेत खोला हाइड्रोपावर कम्पनी, विकास हाइड्रोपावर कम्पनी, बुढीगण्डकी हाइड्रोपावर कम्पनी, वाटर इनर्जी हाइड्रोपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरु सहभागी थिए ।
‘कसैले काम अघि बढाएका छन् । कसैले झोलामा खोला लिएर हिडेका छन्’, उनले भने, ‘सबैले यथासीघ्र पीपीए र आईई गर्नुपर्ने निश्कर्ष निकालियो । त्यस्तै सबै आयोजनाले स्थानीयबासीहरुलाई भेला गरी आयोजनाको वर्तमान अवस्था जानकारी गराई उनीहरुको माग तथा सुझावहरु सम्बोधन गर्नुपर्ने, सबै आयोजनाले स्थानीयबासीको उचित मुआव्जा दिनुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना आसपासका बासिन्दाले माग गरे अनुसारको काम गर्नुपर्ने निर्णय भएको छ ।’
माछाखोला आसपास विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको अपर माछाखोला जलविद्युत आयोजना, १० मेगावाटको निम्रुङखोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । त्यस्तै बुढीगण्डकी हाइड्रोपावर कम्पनीले ४.६ मेगावाटको समर माछाखोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । त्यस्तै वाटर इनर्जी हाइड्रोपावर कम्पनीले १८ मेगावाटको माछाखोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ ।
४.६ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि समरमाछाखोला हाइड्रोपावर कम्पनीले पावर हाउसस्थलसम्म सात किलोमिटर सडक निर्माण गरिसकेको जनाएको छ ।
तस्वीर : डिलबहादुर गुरुङ(खोर्ला) को फेसबुकबाट




