| आइतवार, कार्तिक २२, २०८३

चितुवा र कुकुरको भिडन्तमा चितुवाको मृत्यू

पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ । बिहिबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवाको मृत्यू भएको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।
स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यू भएको उनले बताए । ‘बाख्रा फाराममा साना ठूला गरेर छ वटा कुकुर थिए । कुकुर सबै उन्नत जातका हुन्’, उनले भने, ‘दोहोरो भिडन्त हुँदा चितुवा पनि मरेको छ । एउटा कुकुरको पनि मृत्यू भएको छ ।’ दुइटा कुकुर सख्त घाइते भएको उनले बताए । बाघको टाउको र घाँटी छियाछिया भएको उनले बताए ।
चितुवा र कुकुरको डेढघण्टासम्मको भिडन्त बाख्रा फारामका धनी फुचुङ लामाले प्रत्यक्ष हेरेको अर्का स्थानीय तपबहादुर उप्रेती बताउँछन् । फारामसंगै रहेको सालको जंगलदेखि चिसापानी खोलासम्म भिडन्त भएको बाख्रा फारामका साहु लामाले देखेको उनले बताए ।
चितुवा पाँच हात लामो छ ।
घटनास्थलमा रातामाटे सेरा चौकीबाट प्रहरी पुगिसकेको र सो चितुवा वन कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
चितुवाको मुचुल्का गरी गाड्ने डिभिजन वन अधिकृत इमनाथ पौडेलले जानकारी दिए ।

तस्वीर सौजन्य : राम क्षेत्री, पानपा ९ सेरा

प्रतिक्रिया दिनुहोस्