| सोमवार, कार्तिक २३, २०८३

सहिद लखनले एक विद्यार्थी एक सीप अभियान सञ्चालन गर्ने

किरण लोहनी : 

गोरखाको सहिद लखन गाउँ पालिकाले एक विद्यार्थी एक सीप अभियान सञ्चालन गर्ने भएको छ । कम्तिमा माध्यमिक तह पढ्दै गरेका पालिकाभरका विद्यार्थीलाई प्राविधिक सीप दिने उदेश्यले अभियान सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले बताए ।
अभियानलाई ब्यवस्थित गर्न चौंथो गाउँसभाले बुधवार सीप विकास प्रतिष्ठान विधेयक २०७५ पारित गरेको छ । विधेयकलाई ऐनको रुपमा जारी गरेपछि गाउँपालिका का सबै माध्यमिक विद्यालयमा अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । ‘शिक्षालाई श्रम र उत्पादनसँग जोड्ने उदेश्यले अभियान गर्न लागेका हौं’ उनले भने, ‘कम्तिमा माध्यमिक तहको पढाई सक्दा विद्यार्थीले कुनै न कुनै सीप जानून् र त्यसलाई आत्मनिर्भर र आयआर्जनको काममा लगाउन सकून् भन्ने उदेश्य हो ।’
गाउँपालिकाको जनशक्ति माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई नियमित पढाईसँगै प्राविधिक सीप पनि सिकाउने तयारी थालिसकेको उनले जानकारी दिए । ‘त्यहाँ कपाल काट्ने सीप भएका एकजना विद्यार्थी रहेछन् । अब विद्यालयले उनका लागि सैलुन खोलिदिन्छ र तिनै विद्यार्थीले अरु इच्छुक विद्यार्थीलाई पनि उक्त सीप सिकाउँछन्’ अध्यक्ष थापामगरले भने, ‘सोही विद्यालयमा ब्यवस्थित फूलवारी बनाउने काम पनि सुरु हुन लागेको छ । हामी त्यहाँ मौरीको घार निर्माण गरिदिन्छौं । विद्यार्थीले फूल खेती पनि सिक्छन्, मौरीपालन पनि सिक्छन् ।’ सीपका फरक फरक अभ्यास अन्य विद्यालयमा पनि गराइने उनले बताए ।
सीप विकास प्रतिष्ठान गठन भएपछि गाउँपालिकाले स्थानीय बासिन्दाको परम्परागत सीपको प्रमाणीकरण पनि गर्ने भएको छ । गाउँघरमा धेरै सीप भएका मानिस भएपनि उनीहरुले जानेको सीपको प्रमाणीकरण नहुँदा रोजगारीको नयाँ अवसर प्राप्त गर्न नसकेकाले प्रमाणीकरण आवश्यक रहेको गाउँपालिका अध्यक्ष थापामगरले बताए । प्रतिष्ठानले परम्परागत सीप जानेकाहरुलाई उनीहरुको दक्षता अनुसारको प्रमाणपत्र दिनेछ । सीप प्रमाणीकरणसँगै परम्परागत सीपको संरक्षणका लागि तालिम पनि प्रदान गर्ने उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष रमेश थापामगरको अध्यक्षतमा बुधवार भएको चौंथो गाउँसभाले सीप विकास प्रतिष्ठान विधेयक सर्वसम्मतले पारित गरेको सूचना अधिकारी पूर्णबहादुर गहतराजले बताए । वडा नम्वर ४ का अध्यक्ष कृष्णबहादुर प्रजाको प्रस्ताव र ३ का अध्यक्ष गणेश थापामगरले समर्थन गरेको विधेयक सर्वसम्मतले पास भएको हो । गाउँसभाले स्वास्थ्य सेवा विधेयक २०७५ पनि पारित गरेको छ । जसको प्रस्तावक वडा नम्वर ८ का अध्यक्ष काशिनाथ अंगाई र समर्थक वडा नम्वर १ का अध्यक्ष दीपबहादुर केसी थिए ।

प्रतिक्रिया दिनुहोस्