| सोमवार, कार्तिक २३, २०८३

राहत शिक्षकको आन्दोलनले गोरखाका सामुदायिक विद्यालय बन्द

सोमबार काठमाडौंमा गरेको बिरोध प्रदर्शनमा राहत शिक्षकहरुमाथि चर्को दमन भएको बिरोधमा मंगलबार गोरखा जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन् । आफ्ना मागहरु सरकारले पूरा गर्नतर्फ उन्मुख हुनुको साँटो पानीको फोहोरा हान्दै चरम दुव्र्यबहार भएको भन्दै जिल्लाका अस्थायी, राहात र बाल विकास केन्द्रका शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालय बन्द भएका हुन् ।
गत असोज २२ गते सरकारसँग भएको चार बुँदे सहमति कार्यान्यन गर्न दवावस्वरुप सोमबार काठमाडौंमा बिरोध प्रदर्शन भएको थियो ।
जिल्लामा कार्यरत राहत, बाल विकास केन्द्रका शिक्षक, अस्थायी शिक्षक, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुले अनिश्चितकालिन शैक्षिक हड्ताल आह्वान गरेको राहत शिक्षक जिल्ला कार्यसमिति गोरखाले जनाएको छ ।
राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुका साथै बाल विकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगीलाई थप सेवा सुविधासहित स्थायी गर्नुपर्ने, सार्वजानिक विद्यालयमा कार्यरत राहत, अस्थायी,राहत, सट्टा, बाल विकास केन्द्रका शिक्षकबीचको भेदभाव हटाउनुपर्ने, राहत शिक्षकलाई स्थायी परीक्षामा सामेल हुँदा उमेरको हद हटाउनुपर्ने लगायतका माग राख्दै शसक्त रुपमा आन्दोनमा उत्रेको राहत शिक्षक जिल्ला समितिले जनाएको छ ।
बार्षिक परीक्षा तथा एसईई परीक्षा नजिकिदै गर्दा विद्यालय बन्द हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।
देशभरका विद्यालयमा ४० हजार राहत शिक्षक र ३६ हजार बाल विकास केन्द्रका शिक्षक कार्यरत रहेका छन् भने त्यत्तिकै मात्रामा विद्यालय कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्