
पालुङटारका अति गरीबलाई निशुल्क उपचार सेवा
अनुपमा खनाल
पालुङटार नगरपालिका ले आर्थिक अबस्था कमजोर भएका बिरामीलाई निशुल्क उपचार गर्ने तयारी गरेको छ । स्वास्थ्यसंग मेयर कार्यक्रम अन्तर्गत आँपपिपल अस्पतालमा उपचार गर्न आउने आर्थिक अबस्था कमजोर भएका बिरामीलाई एकपटकमा पाँचहजार रुपैयाँसम्मको सेवा निशुल्क दिने तयारी गरेको मेयर दीपकबाबु कँडेलले बताए । ‘बिपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि यो कार्यक्रम सुरु गर्न लागिएको हो’, उनले भने, ‘पालुङटार नगरपालिकाभित्र कुनै पनि नागरिक गरिबीका कारण उपचार गर्न नसकेर अकालमा मर्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएका हौं ।’ गरिब बिरामी उपचारको लागि चारलाख रुपैयाँको कोष स्थापना गरी सेवा दिने तयारी भैरहेको स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र गिरीले जानकारी दिए । अब बस्ने कार्यपालिकाको बैठकले कोष सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने र यो कार्यक्रम लागु हुने उनको भनाई छ । कार्यविधि अनुसार यो सेवा पाउनका लागि वडा कार्यालयले विरामीको आर्थिक अबस्था कमजोर भएको पुष्टि सहित सिफारिस दिनुपर्ने हुन्छ । सोही सिफारिसका आधारमा अस्पतालले निशुल्क उपचार सेवा दिनेछ ।




