
पालुङ्टार नगरपालिकाको अगुवाइमा आँपपिपल अस्पतालका बिरामीलाई निशुल्क खाना
अनुपमा खनाल :
पालुङटार नगरपालिकाको अगुवाइ मा आँपपिपल सामुदायिक अस्पतालका बिरामीलाई निशुल्क रुपमा खाना खुवाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालसँगको समन्वयमा नगरपालिकाले निशुल्क खानाको ब्यबस्था गरेको हो ।
गत बुधबारदेखि अस्पतालका बिरामीलाई दैनिक तीन पटक खानाको ब्यबस्था गरिएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखा संयोजक दीपेन्द्र गिरीले जानकारी दिए । ‘भर्ना भएका बिरामीलाई डाक्टरको सिफारिस अनुसारका खाना खुवाउन थालिएको हो’ उनले भने ‘बिहान बेलुका दाल, भात, तरकारी, जाउलो, मासु लगायतका खानेकुरा दिन्छौ । दिउँसो चिया, अण्डा लगायतका खानेकुरा दिन्छौँ ।’ बिरामीलाई स्वस्थकर खानाको लागि नेपाल सरकारले पालुङटार नगरपालिकालाई आठलाख रुपैयाँ अनुदान दिएको छ ।

थप खर्चको ब्यबस्थापन नगरपालिकाले नै गर्ने स्वास्थ्य शाखा संयोजक गिरीले जानकारी दिए । बिरामीलाई खानाको ब्यबस्थाका लागि अस्पतालका दुई जना कार्यालय सहयोगीलाई जिम्मेवारी दिईएको छ । निशुल्क खानाको ब्यबस्था गरेसँगै अस्पतालमा भर्ना भएका बिरामीले होटलबाट खाना ल्याएर खानुपर्ने बाध्यता हटेको स्वास्थ्य शाखा संयोजक गिरीले बताए । ‘टाढा टाढाबाट बिरामी यहाँ आउनुहुन्छ’ उनले भने ‘घरबाट नै खाना ल्याउन पनि समस्या, यहाँ किनेर खानुपथ्र्यो । अब, अस्पतालमा नै उहाँको स्वास्थ्य अनुकुलका खाना निशुल्क पाउनु हुन्छ ।’ यसले बिरामीलाई आर्थिक भार पनि कम हुने उनको विश्वास छ । ३९ शैयाको आपँपिपल अस्पतालमा दैनिक एक सयदेखि डेढ सय जनासम्म बिरामी स्वास्थ्य जाँचका लागि पुग्ने गर्दछन् । आपँपिपल अस्पतालमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका तथा लमजुङको केहि भेगका बासिन्दा पनि स्वास्थ्य जाँचका लागि आउने गर्दछन् । बिरामी ओसारपोसारकै लागि अस्पताल ब्यबस्थापन समितिले न्युनतम शुल्कमा बसको पनि ब्यबस्था गरेको छ ।
युनाइटेड मिसन टु नेपाल नामक सँस्थाले २०१३ सालदेखि सञ्चालन गरेको अस्पताल २०५९ असार देखि नेपाल सरकारले स्वामित्व लिएको हो । अस्पतालमा हाल विशेषज्ञ सहित ५६ जना स्वास्थ्य कर्मी तथा कर्मचारी कार्यरत छन् । जसमध्ये नेपाल सरकार अन्तरगत ११ र अस्पताल विकास समितिका तर्फबाट ४५ कर्म चारी कार्यरत छन् । अस्पतालबाट सामान्य उपचारदेखि प्रयोगशाला, दन्त, फिजियोथेरापी, मेजर तथा माइनर शल्यक्रिया लगायतका सेवा सञ्चालनमा छन् । यसअघि पनि सो शीर्षकमा बजेट हुने गरेको तर सदुपयोग हुन नसक्दा फ्रिज हुने गरेको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । ‘सरकारले यसअघि पनि खाना कार्यक्रम अन्तर्गत बजेट पठाउने गरेको रहेछ’, उनले भने, ‘तर भौतिक संरचना, जनशक्ति र व्यवस्थापनको अभावले अस्पताल बाट बजेट फ्रिज हुने गरेको रहेछ । यसपटकदेखि नगर पालिकाको अगुवाइमा सोही कार्यक्रम सदुपयोग गर्ने प्रयास गरेका हौं ।’




