| आइतवार, कार्तिक २२, २०८३

गोर्खाली रनिङ कपको फाइनलमा हरमटारी र नखिपोट भिड्ने

छैटौं गोर्खाली रनिङ कप फूटवलको उपाधीका लागि नखिपोट क्लव ललितपुर र आयोजक हरमटारी क्लव भिड्ने भएका छन् । नखिपोटले गत वर्षको विजेता त्रिवेणी युथ क्लव मुग्लिनलाई र हरमटारीले बुद्ध युथ क्लव भोटेओडारलाई हराउँदै फाइनलमा पुगेका हुन् । सोमवार भएको पहिलो सेमीफाइनल खेलमा गत वर्षको विजेता त्रिवेणीलाई ३–१ गोल अन्तरले हराउँदै नखिपोटले फाइनल यात्रा तय गरेको हो । नखिपोटको जीतमा जर्सी नम्वर १० का विकास लामाले ह्याट्रिक गरेका थिए । छैटौं सिजनको गोर्खाली रनिङ कपको यो पहिलो ह्याट्रिक हो । साविक विजेता त्रिवेणीका लागि भने विकी राईले सान्त्वना गोल गरेका थिए । नखिपोट र त्रिवेणीको गत वर्ष पनि फाइनलमा भेट भएको थियो । गत वर्षको पाँचौं गोर्खाली कप त्रिवेणीले जित्दा नखिपोटले उपविजेतामा चित्त बुझाएको थियो । यस्तै दोस्रो सेमीफाइनलमा बुद्ध युथ क्लव भोटेओडारलाई २–१ गोल अन्तरले हराउँदै हरमटारी क्लव फाइनलमा पुग्यो । भोटेओडारले खेल शुरु भएको केही मिनेटमै जर्सी नम्वर ७ का एलिस तामाङको गोलमा अग्रता लिएको थियो । तर त्यसको केही मिनेटमै हरमटारीका लागि जर्सी नम्वर ७ का राज शाहीले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमै शाहीले गरेको ब्यक्तिगत दोस्रो गोल निर्णायक बन्यो र हरमटारीले फाइनल यात्रा पक्का ग¥यो । फाइनल खेल मंगलवार दिउँसो १ वजे हरमटारी खेलकुद मैदानमा हुने आयोजक क्लवका अध्यक्ष विशाल गुरुङले बताए । प्रतियोगिताका विजेताले २ लाख रुपैया पुरस्कार सहित रनिङ कप, मेडल पुरस्कार पाउनेछ । उपविजेताले भने १ लाख रुपैया र मेडल पाउने गुरुङले बताए । सेमीफाइनलमा पुगेका बुद्ध युथ क्लव र त्रिवेणी मुग्लिनले भने ५०÷५० हजार रुपैया पाउनेछन् । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोल रक्षक, मिडफिल्डर, फरवार्ड र डिफेन्सका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्