
दुईदिनसम्म हेलिकोप्टर कुर्दाकुर्दै घाइतेको मृत्यू
शिव उप्रेती ः उपचारका लागि बोलाएको हेलिकोप्टर पर्खिदा पर्खिदै सामागाउँका एक घाइतेको ज्यान गएको छ । गत बुधबार राती सौचालय जाँदा घरको बरण्डाबाट लडेर घाइते भएका टासीढुण्डुप लामाको शुक्रबार मृत्यू भएको स्थानीय मिङ्मार लामाले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका २ स्योका ३२ बर्षीया टासी दोर्जे लामा चुमनुब्री १ सामागाउँको ससुराली घरमा लडेर घाइते भएका हुन् । ‘बिहिबार दिनभरि हेलिकोप्टरको प्रक्रिया पूरा गर्दैमा बित्यो । अबेलासम्म भए पनि आइहाल्छ कि भन्ने आशा थियो आएन’, उनले भने, ‘शुक्रबार सातबजेतिर आउने कुरा थियो, तर साँढे छ बजे नै मान्छे म¥यो ।’ कादुरी नामको गैरसरकारी संस्थाले लघुजलविद्युत आयोजनाको सामान बोकेको हेलिकोप्टरले आरुघाटसम्म लगेर छोड्न तयार भएको तर आरुघाटबाट बसमा लैजाँदा ढिलो हुने भएकाले सिधै काठमाडौं लैजाने हेलिकोप्टरको प्रक्रिया गरिएको उनले बताए ।
चुमनुब्री गाउँपालिका सडक सञ्जालले नजोडिएको गाउँपालिका हो । सामागाउँबाट गाडी चढ्न पाँचदिनको बाटो हिडेर सोती आइपुग्नु पर्छ । उपचारका लागि हेलिकोप्टर चार्टर गर्न दुईलाख १० हजार रुपैंया तिर्नुपर्छ । यातायातको असुविधाका कारण दुर्गममा धेरैले अकालमा जीवन गुमाउनु परेको भन्दै उनले गुनासो गरे । ‘दुख पर्दा सेवा लिनु पर्छ भनेर गाउँलेले श्रमदान गरेर हेलिप्याड बनाएका छन्, तर दुख पर्दा दुईलाख तिरेर हेलिकोप्टर बोलाउँदा हेलिकोप्टरले पनि लापार्बाही गर्छ ।’ आकस्मिक हेलिकोप्टर सेवाका लागि जिल्ला विपद व्यवस्थापन समितिको आग्रहमा चुमनुब्री गाउँपालिकाको हरेक वडामा हेलिप्याड निर्माण भएको छ । तर बेलामा सेवा नपाएर मर्नेको संख्यामा कमी नआएको स्थानीयबासीको गुनासो छ ।
चुमनुब्री गाउँपालिकामा बर्षेनी हेलिकोप्टर नपाएर आधा दर्जन भन्दा बढि बिरामी तथा घाइतेको मृत्यू हुने गरेको बीरबल घले बताउँछन् । ‘अकस्मात हेलिकोप्टर चाहियो भने हेलिकोप्टर कम्पनी, जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, नागरिक उड्यन प्राधिकरण दौडदा दौडदै बिरामी, घाइतेको मृत्यू भइसक्छ’, उनी भन्छन्, ‘बर्षेनी यस्ता अप्रिय घटना भइरहन्छन् । कसलाई भन्ने हो, हाम्रो कतै पहुँच छैन ।’ शासन व्यबस्था जति बदलिए पनि दुर्गमको अबस्था नबलिएको उनको भनाइ छ ।




