
उत्तरी गोरखामा बोलिने गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र फुङ शनिबार गोरखामा प्रदर्शन
उत्तरी गोरखाका तमुहरुको संस्कार र संस्कृति समेटेर निर्माण गरिएको सांस्कृतिक चलचित्र फुङ आज प्रदर्शन हुने भएको छ ।

उत्तरी गोरखामा बोलिने भाषामा निर्माण गरिएको पहिलो चलचित्र फुङ गोरखाको गोरखकाली चलचित्र मन्दिरमा बिहान ११ बजे प्रदर्शन गरिने चलचित्रका निर्देशक प्रितम गुरुङले जानकारी दिए । बेब्स क्रियशन प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रको सबै छायाङ्कन धार्चे गाउँपालिका ५ गुम्दामा गरिएको थियो । स्थानीय झाँक्रीको संस्कृतिलाई पटकथा बनाएर चलचित्र तयार गरिएको निर्देशक शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । साथै रक्सीको ठेकी दिएर बिबाहको कुरा छिनोफानो गरिने परम्परालाई पनि चलचित्रको बिषयबस्तु बनाइएको कार्यक्रममा निर्देशक गुरुङले जानकारी दिए । ‘यो चलचित्र अन्य गुरुङ चलचित्र भन्दा बिल्कुलै फरक छ’ निर्देशक गुरुङले भने, ‘चलचित्र फुङ विद्यमान संस्कार र संस्कृतिमा आधारित र सत्यकथा आधारित छ ।’
फुङको अर्थ समाज, एकता वा एकजुट भन्ने बुझिन्छ । 
उतरी गोर्खा तमु समाजले निर्माण गरेको चलचित्र फुङमा धार्चे निबासी आइतराम गुरुङ , बुध गुरुङ, मीरा गुरुङ, सुमन गुरुङ, सलिना गुरुङ, लगायत कलाकारले अभिनय गरेका छन् । फुङमा आइतराम गुरुङको कथा, खेम थापा मगरको क्यामरा, मेघबहादुर थापा मगरको सम्पादन , बिक्रम कार्की को पार्स्व संगीत रहेकोे छ । चलचित्र गुरुङ चलचित्रका चर्चित निर्देशन प्रितम गुरुङले निर्देशन गरेका छन् । करिब २० लाख रुपैयाको लागतमा निर्माण भएको फुङ चलचित्र प्रदर्शनमा रोक लगाउन घले समाज(लिःल फङ)ले केन्द्रीय चलचित्र जाँच समितिमा उजुरी गरेको थियो । चलचित्रमा रहेको भाषा गुरुङ भाषा नभएर घले भाषा भएको दाबी गर्दै लिःल फङले उजुरी गरेको थियो । लामो अध्ययनपछि समितिले प्रदर्शनका लागि फुकुवा गरेको थियो ।





