
गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक हुने
पोखरामा गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक २०१९ हुने भएको छ । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ कास्कीले फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा इन्फोटेक गर्ने भएको हो । आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक र नयाँ प्रविधिको जानकारी दिने उदेश्यले क्यान इन्फोटेक गर्ने जानकारी दिए । ग्रामीण क्षेत्रमा प्रविधिसम्बन्धी सुचना तथा जानकारीको पहुँच वृद्धि गर्नका लागि इन्फोटेक लाभदायी हुने उनको विश्वास छ ।
इन्फोटेकमा बृहत सुचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरीय टाईपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज अफर लगायत नयाँ प्रविधिका मोवाईलको प्रदर्शनी तथा विक्रि गरिनेछ । सोही अबसरमा दृष्टिविहीनलाई निशुल्क कम्प्युटर तालिम दिईने क्यान कास्कीका सचिव विकास भुर्तेलले जानकारी दिए । इन्फोटेकबाट बचत भएको रकम सुचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । कार्यक्रममा क्यानका केन्द्रिय सदस्य अशोक राना मगर, जिल्ला अध्यक्ष प्रेमध्वज थापा मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




