| सोमवार, कार्तिक २३, २०८३

पालुङ्टार नगरपालिका नगरप्रमुख विद्यार्थी कल्याणकारी कोष स्थापना

अनुपमा खनाल
पालुङ्टार नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने गरी नगरप्रमुख विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको छ ।
नगरपालिकाभित्रका १३ वटा विद्यालयका एकेक जना गरीब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने गरी नगरपालिका कार्यालयले कोष स्थापना गरेको नगर प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । ‘सबै माध्यमिक विद्यालयका लागि एकमुष्ठ १३ लाख रुपियाँ बैक खातामा राखिएको छ’, उनले भने, ‘वडा अध्यक्ष र विद्यालय प्रशासनको सिफारिसको आधारमा विद्यार्थीलाई पुरस्कृत गर्नेछौं ।’

पालुङटार दिवसको अवसरमा नगर प्रमुख विद्यार्थी पुरस्कार प्रदान गर्ने लक्ष्य रहेको मेयर कँडेलले बताए । ‘नगरपालिका घोषणा भएको दिनलाई वा हवाइमैदानमा पहिलोपटक प्लेन आएको दिनलाई हामी पालुङ्टार डे भनेर मनाउनेछौं’, उनले भने, ‘त्यही दिनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नेछौं ।’ अहिले प्रत्येक विद्यालयलाई एकेक लाख रुपियाँ पर्ने गरी अक्षयकोष खडा गरे पनि आफ्नो कार्यअवधी सकिनेबेलासम्म कोषलाई पाँचदेखि १० लाख रुपैयाँसम्म बनाउने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्