
गोरखाका चार जलविद्युत आयोजना जनताको लगानीमा बन्ने
अनुपमा खनाल
गोरखाका चार जलविद्युत आयोजना जनताको लगानीमा बन्ने भएका छन् ।
६० मेगावाटको बूढीगण्डकी ग्वारखोला, १०० मेगावाटको बूढीगन्डकी प्रोक १, २४० मेगावाटको बूढीगन्डकी प्रोक २ र ७५ मेगावाटको बूढीगन्डकी क जलविद्युत आयोजना जनताको लगानीमा बन्ने भएका हुन् । सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा गोरखाका चार आयोजना जनताको लगानीमा बन्ने उल्लेख छ ।
‘नेपालको पानी, जनताको लगानी हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले छनौट गरेको १९ वटा जलविद्युत आयोजनामध्ये गोरखाको चार आयोजना छन् । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा आयोजित घोषणा कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको बताए ।




