
आँबुखैरेनी महोत्सवको आज समापन हुने, आज ज्योति मगरको प्रस्तुती
गत माघ १७ गतेबाट सुरु भएको आदिबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव आज समापन हुने भएको छ । गत माघ २४ गते बिहिबारका दिन दिनभर परेको वर्षाले गर्दा महोत्सव स्थगित गरेर आजसम्म सञ्चालन गर्ने आयोजकले निर्णय गरेको हो ।
दर्शक, व्यापारी तथा कलाकारहरुको मागका कारण महोत्सव २ दिन थप गर्नु परेको आयोजक नेपाल आदिबासी जनजाती महासंघ आँबुखैरेनी गाउँ समन्वय परिषद आँबुखैरेनीले जनाएको छ ।

थपिएको २ दिन अर्थात माघ २९ गतेसम्म चल्ने महोत्सवमा पनि दर्शकहरुको उत्साजनक सहभागिता रहनेमा पूर्ण विश्वस्त रहेको महोत्सवका प्रवक्ता मिलन भूजेलले बताए । माघ २९ गते चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती सहित महोत्सवको समापन गरिने उनले बताए ।
महोत्सवमा शनिबार मात्रैं झण्डैं २० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । यस्तै, माघ २७ गते आईतबार लोकदोहोरी गायक नवीन पौडेल, गायिका सुभद्रा श्रेष्ठ, गायक अनुराग थापा, गायक किरण भूजेल, स्थानीय लोकदोहोरी गायक पृथ्वी गुरुङ्ग, चन्द्र परियार र हास्यकलाकार धावा लामा लगायतको प्रस्तुती रहेको थियो ।




