| सोमवार, कार्तिक २३, २०८३

गोरखाको ताकुको एक विद्यालयमा बराम भाषाको कक्षा सुरु

अनुपमा खनाल :
नेपालमै पहिलो पटक गोरखाको ताकुकोटमा बराम भाषामा पढाइ सुरु भएको छ । अति सीमान्कृत को सूचीमा रहेको बराम भाषा जोगाउनका लागि गोरखामा बराम भाषा कक्षा सुरु गरिएको हो । बारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटको अन्तरज्योति माध्यामिक विद्यालयमा बराम भाषा कक्षा सुरु भएको हो ।
भाषा आयोगको सहयोग तथा गाउँपालिकाको समन्वयमा बराम भाषा कक्षा सुरु भएको शिक्षक रणबहादुर बरामले बताए । ‘२६ कक्षा चल्यो अहिलेसम्म’, उनले भने, ‘विद्यालयमा ४ बजेपछि डेढ घन्टा पढाई हुन्छ ।
शनिवार र सार्वजनिक विदा बाहेक अरु दिन सधैं पढाई हुन्छ ।’ भाषा कक्षामा २० बर्ष माथिका गाउँकै पाँच जनाका साथमा विद्यालयको ५, ६ र ७ कक्षामा अध्ययनरत बराम समुदायका १५ विद्यार्थी छन् । भाषा सिक्न चाहने धेरै भएपनि पहिलो चरणमा २० जना छनौट गरी कक्षा सञ्चालन गरेको बराम भाषा कक्षा सञ्चालन ब्यबस्थापन समितिले जनाएको छ । ताकुकोट को डाँडागाउँमा नेपालकै धेरै बराम समुदायको बसोबास रहेको स्थानीयले दाबी गरेका छन् ।

करीब १२ सय बराम समुदायको बसोबास रहेको सो ठाउँमा भाषा राम्रोसँग बोल्न सक्ने करीब ७० जनामात्रै छन् । त्यसैले नयाँ पुस्तामा भाषा हस्तान्तरण गरी भाषा संरक्षण गर्नका लागि पनि बराम भाषा कक्षा उपयोगी हुने शिक्षक बरामले बताए ।
‘यहाँ भाषा जान्ने भनेका सबै ५० बर्षमाथिका हुनुहुन्छ’, उनले भने, ‘मैले पढाउँदा पनि भाषा जान्नेलाई कक्षामा ल्याएर स्रोतब्यक्तिका रुपमा राख्छु । उहाँले सहयोग गर्नुहुन्छ पढाउनलाई ।’ बराम भाषामा २९ ब्यञ्जन र ६ प्रकारका स्वर हुन्छन् । भाषा आयोगका अनुसार भाषा सिकाई चार चरणमा हुन्छ । अहिले पहिलो चरण अन्तरगतका कक्षा चलिरहेको शिक्षक बरामले बताए । ‘यो कोर्ष अन्तरगत एक बर्षमा ९० घन्टा पढाउनुपर्ने हुन्छ’ कोर्ष पूरा भएपछि परीक्षा गरेर पास हुनेलाई भाषा जानेको प्रमाण पत्र पनि दिईन्छ ।’ भाषा आयोगले कक्षामा सहभागी विद्यार्थीलाई दैनिक एक सय रुपैँया बराबरको खाजा उपलब्ध गराउँछ ।
यस्तै, स्रोतब्यक्तिलाई प्रतिकक्षा ६ सय र शिक्षकलाई प्रतिकक्षा ८ सय रुपैयाँ पारीश्रमिक दिइने समितिले जनाएको छ । नेपालमा ३७ भाषालाई लोपोन्मुख भाषामा सूचीकृत गरिएको छ ।
तथ्याङ्क विभागका अनुसार देशमा बराम भाषा बोल्नेको जनसंख्या एक सय ५५ मात्रै छ । यसैले भाषा संरक्षणका लागि भाषा आयोगले ताकुकोटमा भाषा कक्षा सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्