
विद्यालयको पैसा फिर्ता नगरेपछि स्वाँराका दुई प्रअद्वारा उजुरी
बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३, साबिक स्वाँरा गाविसमा भूकम्पले भत्किएका दुई विद्यालय पुनर्निर्माणको क्रममा आर्थिक अनियमितता भएको पाइएको छ । शिम्भु प्रावि स्वाँरा र भानु प्रावि स्वाँराको नयाँ भवन निर्माण गर्दा आर्थिक अनियमितता भएको भन्दै दुवै विद्यालयका प्रधानाध्यापक न्याय माग्न जिल्ला प्रशासन कार्यालय आइपुगेका छन् ।
विद्यालयको छ कोठे भवन पुनर्निर्माणको क्रममा व्यबस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले रकम हिनामिना गरेको भन्दै शिम्भु प्राविका प्रधानाध्यापक सत्यकुमारी गुरुङले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् । ज्यान मार्नेसम्मको धम्की दिदै भवन निर्माणको करोडौंको ठेक्का तेस्रो पक्ष हडपेपछि पुरानो ठेकेदारसंगको बक्यौता उठाउन नसकेको भन्दै भानु प्राबिका प्रधानाध्यापक चेतनारायण श्रेष्ठ पनि जिल्ला प्रशासन कार्यालय आइपुगेका छन् ।
‘अध्यक्षको नाममा डेढलाख रुपैयाँ बेरुजु देखियो । हिसाब मिलाउन भनेर बारम्बार अनुरोध गर्दा पनि कानमा तेल हालेर बसेकाले प्रशासन गुहार्न बाध्य भएको हुँ’, शिम्भु प्राविकी प्रअ गुरुङले भनिन्, ‘यही बिषयमा मिटिङमा कुरा उठ्दा अध्यक्षले स्कूलका स्टाफ रामचन्द्र लामालाई कुटपिट पनि गर्नुभयो ।’ लेखा परिक्षण गरौं भन्दा पनि अटेरी गर्ने, खर्च गरेको पैसा फिर्ता गर्नू भन्दाखेरि पनि अटेरी गर्ने र उल्टै डरधम्की देखाउने गरेको उनले बताइन् । ‘चाँडै पैसा तिर्नु भन्दाखेरि अध्यक्षज्यू उल्टै झगडा गर्न आउनुहुन्छ’, उनले भनिन्, ‘नबुझेको भनुँ कि बुझेर बुझ पचाएपछि उजुरी गर्न बाध्य भएँ ।’
समितिका अध्यक्ष गुरुङले भने ठूलो समस्या नभएको भन्दै केही दिनभित्रै समस्या समाधान हुने बताए ।
त्यस्तै भानु प्राबिको दुईवटा भवन निर्माणका लागि ठेक्का परिवर्तन गर्दा दुईलाख रुपियाँ हिनामिना भएको छ । पहिले ठेक्का पाएका पूर्ण गुरुङबाट ठेक्का फिर्ता गरी स्थानीय ओम गुरुङ, राजन श्रेष्ठ र नवीन श्रेष्ठलाई दिँदा पेश्की स्वरुप दिएको दुईलाख पूर्ण गुरुङले फिर्ता नगरेका प्रधानाध्यापक चेतनारायण श्रेष्ठ बताउँछन् ।
‘आफूहरुलाई ठेक्का नदिए काट्छु, मार्छु भनेर ५०, ६० जनाको हुल ल्याएर तीन जनाले धम्की दिएपछि पूर्ण गुरुङलाई दिएको ठेक्का फिर्ता गरी उनीहरुलाई दिन बाध्य भइयो’, प्रअ श्रेष्ठले भने, ‘अहिले पूर्णले लगेको दुईलाख रुपैयाँ पेश्की फिर्ता गर्न मान्दैन । जहाँ जस्तो उजुरी गर्छस्, गर पेश्की लगेको रकम दिदै दिन्न भन्छ । त्यसैले प्रशासन गुहारेको हुँ ।’ पहिलो ठेकेदारसंग पेश्की रकम उठाउन नसके आफूसंग सो रकम असुल्ने भनेपछि आफू मर्कामा परेको प्रअ श्रेष्ठको भनाइ छ । सो विद्यालयको एउटा भवन बनाउन आठलाख र अर्को भवन बनाउन करिब एक करोड १५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । हुलदंगा गरेर ठेक्का लिएकाहरुले पनि काम सुस्त गरेपछि आफू दोहोरो अप्ठेरोमा परेको उनले बताए । दुवै विद्यालयको उजुरी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । शिम्भु प्राबिका अध्यक्षलाई रकम तिर्न आग्रह गरेको र भानु प्राबिको उजुरीको बारेमा पनि अध्ययन गरिरहेको उनले बताए ।




