| सोमवार, कार्तिक २३, २०८३

दसौं गोरखा महोत्सवबाट रु. १३ लाख नाफा, २१ लाख उठ्न बाँकी

अनुपमा खनाल
दशौं गोरखा महोत्सव एवं अन्तर प्रदेश स्तरीय कृषि पर्यटन तथा ब्यापार मेलामा १३ लाख ६२ हजार रुपैयाँ नाफा भएको छ । आयोजक उद्योग वाणिज्य संघ गोरखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवको आयब्यय सार्वजनिक गरेको हो । महोत्सवमा ७७ लाख २३ हजार रुपैयाँ आम्दानी र ६३ लाख ६० हजार रुपैयाँ खर्च भएको संघका कोषाध्यक्ष प्रकासचन्द्र श्रेष्ठले जानकारी दिए । महोत्सवमा नाफा भएको रकम सँस्थागत हितका साथै सामाजिक सेवामा खर्च गरिने सँस्थाका अध्यक्ष जीवन ज्योती श्रेष्ठले बताए । ‘हाम्रो अपुरो भवन निर्माण पूरा गर्छौ’ उनले भने ‘अनाथ असाहायलाई सहयोग, पर्यटन प्रबद्र्धनका लागि पनि नाफा रकम खर्च गर्छौँ ।’ पुष ५ गतेदेखि १४ गतेसम्म हरमटारीस्थित खेल कुद मैदानमा भएको महोत्सवमा प्रवेश टिकट बाट मात्रै २० लाख ४३ हजार रुपैयाँ आम्दानी भएको उनले बताए । यस्तै, बाल उद्यान बाट १५ लाख र स्टल भाडाबाट १६ लाख ३७ हजार रुपैयाँ आम्दानी भएको छ । महोत्सवमा २१ लाख ५६ हजार रुपैयाँ उठाउन र ९ लाख ४० हजार रुपैयाँ भुक्तान गर्न बाँकी रहेको सँस्थाका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । दशदिने महोत्सव मा आधुनिक तथा लोक गायक गायिका र हाँस्य कलाकारको पारिश्रमिक मात्रै १२ लाख ६९ हजार रुपैयाँ भुक्तान गरिएको उनको भनाई छ । जिल्लामा ठूला मैदान नहुँदा महोत्सव आयोजना गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्