
गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने
गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अबको पाँचबर्षभित्र गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने बताएका छन् । केयर नेपालले छोप्राकमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मुस्ताङ, मनाङ, गोरखालगायतका जिल्लामा स्याउ उत्पादनलाई प्रवद्र्धन गरी गण्डकी प्रदेशलाई विदेशी स्याउमुक्त प्रदेश बनाउन बताएका हुन् ।
‘पाँचबर्षभित्र गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने योजना बनाएका छौं’ गण्डकी प्रदेश सरकारका प्रबक्तासमेत रहेका मन्त्री बस्नेतले भने, ‘हाम्रो प्रदेशमा चाइनाबाट आएको स्याउ, इण्डियाबाट आएको स्याउ नखाने अरु प्रदेशबाट आएको स्याउ नखाने र गण्डकी प्रदेशभरि गण्डकी प्रदेशकै स्याउमा आत्मनिर्भर बनाउने योजना हामीले बनाएका छौं । मासुमा आत्मनिर्भर हुने, अन्न र दूधमा आत्मनिर्भर हुने हामीले योजना बनाएका छौं ।’ गाउँमा सडक आएन भनेर चिन्ता गर्ने तर सडक आएपछि सडकको प्रयोग गरेर के व्यापार गर्ने भनेर चिन्ता नगर्ने प्रवृत्तिप्रति उनले चिन्ता ब्यक्त गरे ।
मन्त्री बस्नेतले प्रदेश सरकारको बजेटबाट चोरकाटेदेखि छोप्राकसम्मको ११.४ किलोमिटर सडकलाई कालोपत्रे गर्ने प्रक्रिया सुरु गरेको बताए । ‘यो सडक कालोपत्रे गर्न यहाँका बासिन्दाको बारम्बारको मागलाई सम्बोधन भएको छ । एक करोड ३६ लाख बजेट परिसकेको छ । अब कालोपत्रे सुरु हुन्छ’, मन्त्री बस्नेतले भने, ‘बहुबर्षे योजना अन्तर्गत अबको दुईबर्षभित्र यो बाटो पिच हुनेछ । म तपाइँहरुलाई यसमा ढुक्क हुन अनुरोध गर्छु ।’
साथै मन्त्री बस्नेतले गण्डकी प्रदेशको आवश्यक सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गरिसक्ने बताए । ‘मेरो मन्त्रालयभित्र झोलुंगे पुलको काम पनि पर्छ । हामी यसैबर्ष कुनकुन ठाउँमा झोलुंगे पुल आवश्यक पर्छ भनेर डिपिआर तयार गर्छौं’, उनले भने, ‘अबको पाँचबर्ष हामी हाम्रो प्रदेशका सबैठाउँमा झोलुंगेपुल निर्माण गरिसक्नेछौं ।’
स्वाँरा सघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य हरिराम पराजुली, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, वडा नं. ३ का अध्यक्ष, केयर नेपालका राष्ट्रिय निर्देशक लोरा बिनेन्बर्ग, मट म्याकडोनाल्डका टिम लिडर होअर्थ, स्थानीय छोप्राक महिला बचत तथा ऋण सहकारी संस्थाकी कौशिला लामिछाने, संवृद्ध कृषि सहकारी संस्थाका काजिबाबु घिमिरे, इश्वरी ढकाल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।




