
छेकम्पारको धारोमा हिउँको लहरो
दुईदिनदेखि लगातारको हिमपातले गोरखा छेकम्पारका पानीका स्रोतहरुमा हिउँ जमेको छ । धारो हिउँको लहरो बनेको स्थानीय सोनाम पाल्जोर लामाले जानकारी दिए ।
‘मान्छेले घरमा ल्याएर राखेको पानीचाहिँ भान्साकोठाको तापले जमेको छैन’, उनले भने, ‘याकचौंरीलाई खुवाउनचाहिँ समस्या भएको छ । हिउँको ढिक्का फुटाएर तताएर खुवाएका छौं ।’ गाउँमा एकफिट भन्दा बाक्लो हिउँ जमेको उनले बताए ।
दुईदिनदेखिको हिमपातका कारण धार्चे गाउँपालिका १ को एक मात्र विद्यालय पनि बन्द भएको छ ।

अधिकांश विद्यार्थी विद्यालयमा आउन नसकेका र आएकाहरुको बिचल्ली देख्न नसकेर घर पठाइएको मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए । ‘लाप्राकको माथिल्लो गाउँ, गुप्सीपाखामा एकफिट हिउँ जमेको छ’, गुरुङले भने, ‘हिउँ र पानीमा रुझ्दै आएका बालबालिकाहरुको बिचल्ली भयो । त्यसैले दुई पिरियड पठाएर घर फर्काइयो ।’ एनआरएनएले बनाउँदै गरेको गुप्सीपाखाको एकीकृत बस्ती निर्माणको काम पनि अबरुद्ध भएको उनले बताए ।




