
राष्ट्रिय पुस्तकालय दिवस : इतिहास जोगाउनेदेखि पढ्ने संस्कृतिको विकाससम्म
–राजेन्द्र अर्याल
हरेक वर्ष भदौ १५ गते नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ। यस वर्ष १९औँ राष्ट्रिय पुस्तकालय दिवस, २०८३ मनाइँदैछ। “बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य” भन्ने यस वर्षको आदर्श वाक्यले पुस्तकालयलाई कुनै निश्चित उमेर, वर्ग वा समुदायमा सीमित नराखी सबैका लागि ज्ञान, अध्ययन र सिकाइको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ।
पुस्तकालय दिवस पुस्तकालयको औपचारिक सम्झना गर्ने दिन मात्र होइन; ज्ञान, शिक्षा, अध्ययन, अनुसन्धान र पठन संस्कृतिको महत्वलाई समाजमा स्थापित गर्ने महत्वपूर्ण अवसर पनि हो। पुस्तकालयले पुस्तौँदेखि संकलित ज्ञान, इतिहास, संस्कृति र अनुभवलाई सुरक्षित राख्दै वर्तमान पुस्तालाई सिक्ने तथा भविष्य निर्माण गर्ने आधार प्रदान गर्दै आएको छ।नेपालमा पुस्तकालय विकासको इतिहासलाई नियाल्दा यसको सम्बन्ध नेपालको एकीकरण अभियानसँग समेत जोडिएको पाइन्छ।
पृथ्वीनारायण शाहले विभिन्न राज्य तथा क्षेत्रहरू विजय गर्दा त्यहाँ रहेका महत्वपूर्ण पुस्तक, ग्रन्थ, दस्तावेज तथा अभिलेखहरूलाई नष्ट हुन नदिई सुरक्षित राख्न ध्यान दिएको इतिहासमा उल्लेख छ। पछि गीर्वाणयुद्ध वीरविक्रम शाहको पालामा वि.सं. १८६९ भदौ १५ गते “ पुस्तक चिताई तहबिल “ मा लालमोहर जारी गरी पण्डित केदारनाथ झालाई बार्षिक रु १५० पारिश्रमिक दिने गरी उक्त महत्वपुर्ण पुस्तक , ग्रन्थ , दस्ताबेज तथा अभिलेखहरुको संरक्षण गर्न जिम्मेवारी दिई एकीकरणका क्रममा संकलित सामग्रीलाई व्यवस्थित रूपमा संरक्षण गर्ने काम अघि बढाइएको पाइन्छ। यही ऐतिहासिक दिनलाई आधार मानेर नेपालमा वि.सं. २०६५ सालदेखि “राष्ट्रिय पुस्तकालय दिवस“ मनाउन थालिएको हो।
इतिहास जोगाउने पुस्तकालय आज केवल किताब राख्ने कोठामा सीमित रहनु हुँदैन। बदलिँदो समयसँगै पुस्तकालय ज्ञान, सूचना, सिर्जना, अनुसन्धान र सामाजिक परिवर्तनको केन्द्र बन्न आवश्यक छ। त्यसैले पुस्तकालय दिवसका अवसरमा पुस्तक प्रदर्शनी, पुस्तक समीक्षा, वाचन प्रतियोगिता, वक्तृत्वकला, कविता तथा कथा लेखन, लेखकसँग अन्तरक्रिया, पुस्तक आदान–प्रदान, उत्कृष्ट पाठक सम्मान तथा सामूहिक वाचनजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यस वर्ष पनि प्रदेश, स्थानीय तह, शैक्षिक संस्था तथा पुस्तकालयसम्बन्धी संघसंस्थामार्फत विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी पुस्तकालय दिवस मनाइदैछ ।
तर पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विकाससँगै पुस्तक पढ्ने संस्कृतिमा केही कमी आएको महसुस गर्न सकिन्छ। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा समय बिताउने प्रवृत्ति बढ्दै जाँदा पुस्तक पढ्ने बानीलाई पुनर्जीवित गर्नु आजको आवश्यकता हो। डिजिटल माध्यम आफैँमा समस्या होइन; बरु त्यसलाई ज्ञान प्राप्तिको सकारात्मक साधनका रूपमा प्रयोग गर्न सकिन्छ। परम्परागत पुस्तकालयसँगै विद्युतीय पुस्तकालय र डिजिटल सामग्रीको पहुँच विस्तार गर्नु पनि समयको माग हो।
विशेषगरी विद्यालय तहमा बालमैत्री पुस्तकालय, नियमित पठन कार्यक्रम, पुस्तक समीक्षा तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्न सके बालबालिकामा जीवनभरका लागि पढ्ने संस्कार विकास गर्न सकिन्छ। घरमा अभिभावकले पढ्ने वातावरण सिर्जना गर्ने, विद्यालयले दैनिक केही समय सामूहिक वाचनका लागि छुट्याउने र स्थानीय तहले पुस्तकालयलाई आवश्यक पुस्तक तथा प्रविधिले सुसज्जित बनाउने हो भने पठन संस्कृति विस्तार गर्न सकिन्छ।
पढ्ने बानी विकास गर्न ठूलो कामबाट सुरु गर्नुपर्दैन। दैनिक १५–२० मिनेट पढ्ने, आफूलाई रुचि लाग्ने विषयबाट सुरुआत गर्ने, मोबाइलमा बिताउने समय केही घटाएर पठनका लागि छुट्याउने, पढेका महत्वपूर्ण कुरा टिपोट गर्ने र महिनामा कम्तीमा एउटा पुस्तक पढ्ने लक्ष्य राख्न सकिन्छ। परिवारमा ‘सँगै पढ्ने समय’ बनाउने, साथीभाइबीच पुस्तक आदान–प्रदान गर्ने र पढेको पुस्तकबारे छलफल गर्ने बानीले पनि पठनप्रतिको रुचि बढाउँछ।
आजको सूचना युगमा हामीसँग सूचना पहिलेभन्दा धेरै छ; तर सूचनालाई ज्ञानमा र ज्ञानलाई विवेकमा बदल्ने क्षमता अझ महत्वपूर्ण छ। सामाजिक सञ्जालमा केही मिनेटमै हजारौँ सूचना भेटिए पनि पुस्तकले दिने गहिरो अध्ययन, चिन्तन र विश्लेषणको स्थान सहजै लिन सक्दैन।
त्यसैले यस वर्षको आदर्श वाक्य “बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य”लाई केवल नारामा सीमित नराखौँ। बालबालिकालाई पुस्तकालयसम्म पु¥याऔँ, युवालाई ज्ञान र सिर्जनासँग जोडौँ अनि ज्येष्ठ नागरिकका अनुभव र ज्ञानलाई पनि पुस्तकालयमार्फत नयाँ पुस्तासम्म पु¥याऔँ।
पुस्तकालयमा पुस्तक थप्नु महत्वपूर्ण छ, तर त्यसभन्दा महत्वपूर्ण कुरा पुस्तक पढ्ने मानिस थप्नु हो। हामीले पुस्तकालय बनायौँ कि पुस्तक पढ्ने संस्कार पनि बनायौँ? राष्ट्रिय पुस्तकालय दिवसले आज हामी सबैलाई यही प्रश्न गर्नुपर्छ।
पुस्तकालय ज्ञानको भण्डार हो, पुस्तक ज्ञानको माध्यम हो र पठन त्यस ज्ञानलाई जीवनमा रूपान्तरण गर्ने अभ्यास हो। त्यसैले यस पुस्तकालय दिवसमा संकल्प गरौँ—हरेक दिन केही पढौँ, पढेको कुरा सोचौँ र सिकेको कुरा जीवनमा प्रयोग गरौँ ।
( लेखक रूम टू रिडको साक्षरता कार्यक्रममा यु एन नेपाल मार्फत आबद्ध हुनुहुन्छ ।)




