
गोरखा धादिङ सडक बैकल्पिक मार्ग बन्न सकोस्
अहिले मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध छ । तुइनखोला पुलनेर झरेको पहिरोले गत एकसातादेखि सो सडकखण्ड अवरुद्ध बनाएको छ ।
फेरि केहीदिनपछि मुग्लिन मलेखु सडकखण्ड पनि अबरुद्ध भयो । जवाङखोलानेर गएको पहिरोले सो सडकखण्ड अबरुद्ध बनाएको हो ।
मुख्यराजमार्ग बन्द भएपछि पोखरा तथा त्यस आसपासबाट काठमाडौँ जाने सवारी साधनहरु कुनै मध्यपहाडी लोकमार्ग हुदै धादिङबेशी अनि मलेखु निस्कने गरेका छन् । कतिपय सवारी साधनहरु आँबुखैरेनीबाट गोरखा बजार हुदै आरुघाट अनि आरुघाटबाट मलेखु निस्कने गरेका छन् ।
यी सडक स्तरीय त छैनन् । कतै कच्ची समेत छन्, तैपनि यात्रा नगरी नहुने भएपछि यात्रुहरु यही सडक अपनाउन बाध्य छन् ।
एकहप्तादेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले धेरै समस्या झेल्नु परेको छ । त्योभन्दा पनि यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् । बिरामीहरु उपचारका लागि राजधानी तथा भरतपुर जान सकेका छैनन् । कसैको ‘इमर्जेन्सी’ काम परेको हुनसक्छ । त्यस्ता महत्वपूर्ण काम छोडेर बस्न बाध्य छन् ।
यस्तो अबस्थामा धेरथोर राहत यो गोरखा धादिङ मार्गले दिलाएको छ । त्यसैले यसको ठूलो महत्व छ ।
समस्याका बेला बिकल्प दिन सक्ने यो मार्गको महत्व अहिले बोध भएको छ । यस्तो समस्या भविष्यमा पनि नपर्ला भन्न सकिन्न । त्यसैले यो मार्गलाई स्तरोन्नति गरी सुखद यात्राको बिकल्प दिनसक्ने बनाउनु पर्छ । बैकल्पिक मार्ग अपनाउने यात्रुले पनि अहिले साँगुरो अनि कच्ची बाटो हुँदा सुख र शान्ति पाएका छैनन् ।
गोरखा बिकल्पलाई आरामदायी बनाउन यसलाई स्तरोन्नति गर्नु जरुरी देखिएको छ । यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ ।