| आइतवार, चैत्र १, २०८२

गोली र घाउ बीचको चेतना

अंकित खनाल(बर्ष १९)
हामी अहिलेको पुस्ता, जसलाई जेन–जी भनिन्छ, धेरैले ‘इन्टरनेट पुस्ता’ भनेर पनि चिन्दछन् । प्रायः सन् १९९७ पछि जन्मिएका हामी नयाँ संसारमा हुर्किएका हौं, जहाँ मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल हाम्रो दैनिकीको हिस्सा बनिसकेको छ ।

हामीले बच्चै बेलादेखि विश्वका कुरा छिटो देख्न, बुझ्न र तुलना गर्न पायौं । त्यसैले हामी पुरानो पुस्ताभन्दा अलि बढि जिज्ञासा राख्ने, प्रश्न गर्ने, न्याय खोज्ने, र समान अवसर माग्ने, बानी भएका छौँ । हाम्रो पुस्तालाई कतिपयले ‘सामाजिक सञ्जालमै रमाउने’ भनेर आलोचना गर्छन् । तर हामीलाई थाहा छ–सामाजिक सञ्जाल हाम्रो लागि केवल मनोरञ्जन होइन, आवाज उठाउने र सशक्तिकरणको माध्यम हो । त्यही कारण जब सरकारले सामाजिक सञ्जाल बन्द ग¥यो, हामीले त्यसलाई केवल टेक्नोलोजीको मुद्दा नभई हाम्रो स्वतन्त्रता, हाम्रो आवाज, र हाम्रो अधिकार खोस्ने प्रयास भनेर बुझ्यौं ।

भदौ २३ (सेप्टेम्बर ८) मेरो जीवनमा कहिल्यै नबिर्सने, सबैभन्दा पीडादायी दिन बन्यो । त्यो बिहानैदेखि म हजारौँ युवाहरूसँगै सडकमा उत्रिएको थिएँ–हाम्रो हातमा न त हतियार थियो, न कुनै हिंसात्मक योजना, केवल हाम्रो आवाज सुनियोस् भन्ने आशा थियो । हामीले अभिव्यक्ति स्वतन्त्रता, न्याय, र भ्रष्टाचार विरुद्धको असन्तुष्टि व्यक्त गरिरहेका थियौँ । वातावरणमा ऊर्जा र आक्रोश दुवै मिसिएको थियो । हामी नारा लगाइरहेका थियौँ, तर मनमा कतै डर पनि थियो–सुरक्षा बल कसरी प्रतिक्रिया दिने हो भन्ने ।

सुरुमा सुरक्षाकर्मीहरूले हामीलाई रोक्न आँशु ग्याँस फ्याँके, जसले भीडमा आतङ्क मच्चियो । आँखाबाट आँसु बग्यो, सास फेर्न गाह्रो भयो, तर पनि हामी अडिग थियौँ । केहीबेरमै पानी तोप चलाइयो, जसले हामीलाई पछाडि धकेल्ने प्रयास ग¥यो । तर प्रदर्शन थामिएन, अझै नारा गुञ्जिरहे । त्यसपछि अचानक परिस्थिति भयावह मोडमा पुग्यो, गोली चल्न थाल्यो । त्यो आवाजले वातावरण पूरै चिरियो, मानौँ हामी कुनै युद्धमै फँसेका थियौँ ।

म बीच भीडमा थिएँ, कलेजको पोशाक लगाएर, हातमा प्लेकार्ड बोकेको । जब अचानक मेरो शरीरमा असह्य पीडा महसुस गरें । माथिल्लो जाँघमा आगोझैँ पोल्ने, चर्काे दुखाइले म तुरुन्तै जमिनमा ढलें । सुरुमा म विश्वासै गर्न सकिनँ । सोचें, सायद रबर बुलेट होला । तर पछि थाहा पाएँ, त्यो त धातुको गोली रहेछ । म ढल्दा वरिपरिको कोलाहल, धुवाँ, कराइरहेका मानिसहरू–सबै कुरा एकसाथ सुन्न सकिन्थ्यो । म बेहोश भने भएको थिइनँ, तर हिँड्ने स्थिति थिएन ।

मेरो खुट्टा चल्न सक्दैनथ्यो, रगत बगिरहेको थियो, वरिपरि साथीहरूले मलाई उठाउन खोजिरहेका थिए, तर भीड र प्रहरी बीचको झडप रोकिएको थिएन । त्यसैबेला, मलाई चिनेका होइन तर आन्दोलनमै भेटिएका अज्ञात साथीहरू अगाडि बढे । उनीहरूले हतारहतारमा मलाई उठाए, ढाडस दिए, र नजिकै एम्बुलेन्स खोज्न दौडिए । भीड र डर बीच पनि ती अपरिचित साथीहरूको मानवीयता झल्कियो । उनीहरूकै सहयोगले अन्ततः मलाई एम्बुलेन्समा चढाइयो र अस्पताल पु¥यायो । त्यसपछि मेरो अर्को संघर्ष सुरु भयो ।

गोली लागेर अस्पताल भर्ना भएपछि म पुरै ६ दिनसम्म सिभिल सर्विस अस्पतालको बेडमा उपचाररत रहनु प¥यो । त्यो ६ दिन केवल मेरो शरीरको घाउ निको पार्ने समय मात्र थिएन, त्यो समय मेरो जीवनको सबैभन्दा गहिरो आत्म–संघर्षको घडी पनि बन्यो । शरीर दुखिरहेको थियो, हिँड्न त के, सानो–सानो हलचल गर्दा पनि असह्य पीडा हुन्थ्यो । तर त्यसभन्दा ठूलो घाउ त मनमा थियो ।

अस्पतालको बेडमा म निश्चल भएर पल्टिँदा वरिपरि अन्य घाइतेहरूलाई पनि देख्न सक्थें—कसैको हातमा गोली लागेको, कसैको टाउकोमा चोट, कसैको आँखामा आँसु र पीडा । उनीहरूको करुण आवाज, परिवारका सदस्यहरूको रुँदा–गर्दा भिजेका अनुहार, अनि वार्डमा भरिएको पीडाले वातावरण नै भारी बनाइरहेको थियो । प्रत्येक घाइतेको कथा आफ्नै दुःख बोकेको थियो, र तिनीहरूलाई देख्दा मेरो मन अझ चिरिएर आयो ।

म सोच्थें, हामी सबै केवल आफ्नो आवाज सुनियोस् भनेर सडकमा उत्रिएका थियौँ, तर अहिले अस्पतालको बेडमा लडिरहेका छौँ । शरीरका घाउ त चिकित्सकहरूले निको पार्नेछन्, तर मानसिक रूपमा परेको घाउ कसरी निको हुन्छ ? त्यो प्रश्नले ६ दिनसम्म मलाई सताइरह्यो । राति निद्रा लाग्दैनथ्यो । आँखामुनि लगातार टल्किन्थ्यो, गोली चलेको त्यो क्षण, भीडमा म लडेको पल, अनि अज्ञात साथीहरूले एम्बुलेन्समा चढाएको सम्झना ।

त्यो ६ दिनमा मैले बुझें, म मात्र होइन, हाम्रा जस्तै सयौँ, हजारौँ युवाहरूको सपनामा पनि गोली चलाइएको छ । अस्पतालको त्यो अनुभवले मलाई शरीर मात्र होइन, आत्मासम्म घाइते बनाइदियो । त्यो क्षणले मलाई केवल शारीरिक पीडा मात्र दिएन, बरु एउटा गहिरो बोध पनि गरायो । मैले सधैं राज्यलाई सुरक्षा दिने, नागरिकको अधिकार र स्वतन्त्रता रक्षा गर्ने शक्ति भनेर विश्वास गरेको थिएँ। तर त्यही राज्यका सुरक्षाकर्मीहरूले हामीलाई नागरिक होइन, शत्रु जस्तो व्यवहार गरेर गोली प्रहार गरे।

हामीले भनेको कुरा केवल सुन्ने र विचार गर्ने थिएन? तर त्यसको सट्टा हाम्रो जवाफ आँसु ग्याँस, पानी तोप र अन्ततः घातक गोलीसँग दिइयो । त्यसदिन मैले बुझें, नेपालमा न्याय माग्नु, अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गर्नु, र भ्रष्टाचारविरुद्ध आवाज उठाउनु सजिलो छैन । राज्य आफैंले हामीलाई दबाउन, चुप लगाउन हिंसाको बाटो रोज्छ भन्ने कठोर यथार्थ मेरो आँखा अगाडि प्रस्ट देखियो ।

शरीरमा लागेको गोलीको घाउ समयसँगै निको हुन्छ होला, तर त्यो दिनले मनमा बनाएको घाउ सजिलै निको हुँदैन । मेरो आत्मामा गहिरो प्रश्नहरू बसालेर गयो, के हामी अझै पनि नागरिकको हैसियतमा सम्मानित छौँ ? के हाम्रो आवाज राज्यका कानसम्म पुग्छ ? कि हामी सधैं चुप पारिनुपर्ने, डराएर थामिनुपर्ने पुस्ता मात्र हौँ ? भदौ २३ को आन्दोलन मेरो जीवनको टर्निङप्वाइन्ट जस्तै बन्यो । त्यो दिनको पीडा, आँसु र रगतको दृश्यले मलाई धेरै कुरा सिकायो ।

मैले महसुस गरेँ—हाम्रो आवाज दबाउने प्रयास गर्दा पनि युवाहरू चुप लागेर बस्दैनन् । हामीले सडकमा देखाएको उपस्थितिले नै नेतृत्वलाई हल्लाइदियो, अन्ततः सरकार र प्रधानमन्त्रीसमेत परिवर्तन गर्नुप¥यो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय जस्तो दमनकारी कदमविरुद्ध देशभरबाट दबाब बढ्दा, सरकारले आफ्नो नीति पुनर्विचार गर्न बाध्य भएको मैले आफैं अनुभूत गरें । तर यसका साथसाथै मैले कठोर यथार्थ पनि देखें, हाम्रो राज्य अझै नागरिकलाई सुन्नेभन्दा पनि डर देखाउन, गोली चलाउन तत्पर रहन्छ ।

सुरक्षाकर्मीहरूले हामीलाई नियन्त्रण गर्नका लागि अपनाएको हिंसाले नेपालमा मानवअधिकार कति कमजोर अवस्थामा छ भन्ने प्रस्ट गरिदियो । अस्पतालमा बिताएका ६ दिन मेरो लागि शारीरिक उपचार मात्र होइन, राजनीतिक चेतनाको पनि नयाँ पाठशाला बने । मैले बुझें, देशको राजनीति पुराना नेताहरूको सत्तालिप्साबाट चलिरहँदा आम जनताको आवाज दबाइन्छ । तर युवाहरू सडकमा उत्रिँदा त्यो सत्ताको ढाँचा हल्लिन्छ ।

यो आन्दोलनले देखायो कि अब पुरानै शैलीमा सत्ता चलाउन खोज्नेहरूलाई चुनौती मिल्नेछ । घाइते साथीहरूको अनुहार हेर्दा र अज्ञात साथीहरूले दिएको सहयोग सम्झँदा मैले महसुस गरें, यो आन्दोलन केवल हाम्रो शरीरमा घाउ दिएर मात्र थामिँदैन, यसले हाम्रो पुस्तामा जागरणको बीउ रोपिसकेको छ । हामीले देखाएका आँसु र रगत भविष्यमा राजनीतिक परिवर्तन र नयाँ पुस्ताको नेतृत्वको आधार बन्नेछ ।

आजसम्म पनि त्यो घाउ मेरो शरीरमा छ, तर त्यो भन्दा ठूलो घाउ मेरो मनमा छ । त्यो दिन मैले महसुस गरेँ, यो आन्दोलन केवल सामाजिक सञ्जालका लागि थिएन, यो पुस्ताको भविष्य र स्वतन्त्रताको लागि थियो । मेरो शरीरमा धसेको गोली धातुको टुक्रा मात्र होइन, राज्यको अन्याय र दमनको प्रमाण हो । लेखक आरुघाट गाउँपालिका–८ कौछिनीका हुन् ।

प्रतिक्रिया दिनुहोस्