| आइतवार, जेष्ठ १६, २०८३

प्रकाशकीयः गोरखाको पत्रकारिताको महारथ हाँक्न प्रतिवद्ध छौँ

२०५५ सालको वैशाख १ गते गोरखा सदरमुकाममा एकाएक दरौँदी नामको पाक्षिक पत्रिका जन्मन्छ । केही शैक्षिक, केही व्यवसायिक, केही राजनीतिक चेत भएका नागरिकहरुको जोडबलले गोरखामा स्थानीय पत्रिकाको खाँचो छ भन्ने महशुस गरी पत्रिका प्रकाशन गरेका थिए । हैंसे गर्ने त धेरै हुन्छन्, होस्टे गर्ने सीमित हुन्छन् । हैंसे गर्नेले सँधै साथ नदिन पनि सक्छन्, होस्टे गर्नेहरु अहोरात्र खटिएर पत्रिका प्रकाशन आरम्भ गरेका थिए ।

त्यतिबेला मुलुकको अवस्था ज्यादै जर्जर थियो । २०५२ सालबाट सुरु भएको माओवादी विद्रोहले चरम रुप लिएको अवस्था थियो । यस्तो अवस्थामा भर्खर जन्मेको दरौंदी पत्रिकाले ठूलो सास्ती खेप्नु परेको इतिहास थियो । राज्य पक्ष र विद्रोही पक्षको दोहोरो चपेटामा यात्रा गरिरहँदा आर्थिक संकट पनि उत्तिकै चर्को थियो ।

पत्रकारिताको इतिहास राजनीतिक इतिहाससंग अत्यन्तै निकट हुन्छ, किनभने पत्रकारिता समाजमा रहेर गरिन्छ । सामाजिक राजनीतिक गतिविधिसंगै अघि बढ्छ । त्यसैले समाजले भोग्नु परेको संकटै संकटका बीच दरौंदी अघि बढिरहेको थियो । मुलुकको राजनीति तत्कालीन राजा ज्ञानेन्द्रले कब्जा गरे । राजाको निरंकुशताभित्र पत्रकारिता टिक्न हम्मेहम्मे प¥यो । तैपनि त्यो विषम परिस्थिति पार गर्दै दरौंदी यो अवस्थासम्म आइपुगेको छ ।

पाक्षिकबाट सुरु भएको पत्रिका केही बर्षमा साप्ताहिक र २०६७ असोज १ बाट दैनिक रुपमा प्रकाशित हुन थाल्यो । फेरि पनि २०७२ सालमा भूकम्पको बज्रपात सहनुप¥यो । २०७६ सालमा कोभिडको बज्रपात सहनुप¥यो ।

विभिन्न बिघ्नबाधासंग जुध्दैजुध्दै अघि बढेको यस प्रकाशन बदलिँदो समयसंग जुध्दै अघि बढिरहेको छ । अहिले विश्वभर नै परम्परावादी पत्रकारिताको अस्तित्व संकटमा छ । न्यू मिडिया, सोसल मिडियाको प्रवेशले प्रिण्ट मिडिया मात्र होइन, रेडियो, टेलिभिजन पत्रकारिता पनि संकटमा छन् । बदलिँदो परिवेशसंग आफूलाई पनि समायोजन गर्दै जानु आजको चुनौति छ । यो चुनौतिसंग पनि समायोजना गर्दै र आफूलाई रुपान्तरण गर्दै अघि बढ्ने प्रण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्