
कर्मशीलको हात ईश्वरले चुम्छन्
कर्मशील व्यक्तित्वका एक सशक्त उदाहरण हुन्, गोरखा नगरपालिका ९ का भीमसेन बस्नेत । बिगत २०५० सालदेखि नै गाई, भैँसी पालन गरी दूध व्यवसाय गर्दै आएका उनी अहिलेसम्म पनि अविश्राम दूध ब्यबसाय गर्दै आएका छन् । नेपालमा सानोतिनो व्यवसाय गर्न पनि धेरै झञ्झट हुनु अस्वभाविक भएन । यस्ता अनेकन ‘लफडा’मा उनी नपरेका होइनन् । तैपनि हरेश नखाई, अविचलित भई आजसम्म ठूलो संख्यामा गाई पालन गर्दै दूध ब्यबसाय गर्दै आएका छन् ।
उनको यही कर्मशीलताको प्रसंसा गरी गोरखा जिल्ला तहका कार्यलयहरु, गण्डकी प्रदेशतहका मन्त्रालय, निर्देशनालयहरुले पुरस्कृत, सम्मानित गर्ने गरेका छन् । यसबाट पुष्टि हुन्छ कि, लक्ष्मीप्रसाद देवकोटाले भनेझै कर्म गर्नेको हात भगवानले चुम्छन् ।
उमेरले ५७ कटे पनि उनमा अझै १० देखि १५ बर्षसम्म यही व्यवसायलाई निरन्तरता दिने अठोट छ । आफूले गर्दै आएको पेशा, व्यवसाय आफ्ना सन्ततिले अपनाउन् भन्ने आशा, अभिलाशा कुन अभिभावकको हुदैन र ? उनमा पनि यो आशा, अपेक्षा हुनु स्वभाविक छ तर उनले चाहेजस्तो परिस्थिति छैन ।
तर आफूले सक्दासम्म भने सो व्यवसाय गरिरहने उनको लक्ष्य, उद्देश्य छ । उनीजस्ता व्यवसायीहरु उनको भन्दा ठूलो वा उनको भन्दा सानो आकारका व्यवसाय गर्नेहरु गाउँबस्तीमा अरु पनि छन् । कुखुरा, बाख्रा, माछा पालन गर्नेहरु हुनसक्छन् । विभिन्न खेतीबाली गर्नेहरु हुनसक्छन् । विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्नेहरु हुनसक्छन् । काम गर्नेहरु धुलोमाटोमा लटपटिएका हुन्छन् ।
उनीहरुमा बाहिरि दुनियादारी कुराको ज्ञान नहुन सक्छ, चासो, रुचि नहुनसक्छ । आफ्नो कामप्रतिको एकाग्रताले सुकिलोमुकिलो हुन नसकेको, नभ्याएको हुनसक्छ । तर पनि काम गर्नेलाई सम्मान गर्ने परिपाटी सबैले बसाल्नु पर्छ । स्वरोजगार गर्ने, रोजगारी सिर्जना गर्नेहरुको सम्मान सबैले गर्नुपर्छ ।




