
गर्भवती र शिशुका बारेमा गम्भीर बनौँ
गोरखामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा कम तौलका बच्चा जन्मने बच्चाको संख्या धेरै रहने गरेको पाइएको छ । बिगत तीनबर्षको तथ्यांक अध्ययन गर्दा यहाँ जन्मने कूल शिशुको तीन प्रतिशत विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा कम तौलका जन्मने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले बच्चा जन्मदा न्यूनित्तम २५००ग्राम(२.५ किलोग्राम)को र लम्बाइ ५० सेमिको हुनुपर्छ भनेर निर्धारण गरेको छ । तर गोरखामा गत साउनदेखि असारसम्म एकवर्षको अवधिमा तीनप्रतिशत बच्चा जन्मदै कम तौलका रहेका छन् । गोरखामा सो बर्ष दुई हजार ७३१ बच्चा जन्मिएका थिए । तीमध्य ८२ जना बच्चा जन्मदै कम तौलका रहेका छन् ।
हरेक वर्ष यहाँ जन्मदै कम तौल भएका बच्चाको संख्या तीन प्रतिशतकै अनुपातमा रहेको छ । अघिल्लो वर्ष २०८०÷८१ मा पनि २.८८ प्रतिशत बच्चा जन्मदै कम तौलका थिए । सो बर्ष जिल्लाभर दुई हजार आठ सय पाँच जना बालबालिकाहरु जन्मिएका थिए । जसमध्य ८१ जना कम तौलका जन्मिएको कार्यालयले जनाएको छ । तीनवर्ष अघिको तथ्यांक अध्ययन गर्दा ३.५३ प्रतिशत बच्चा जन्मदै २.५ किलोग्रामभन्दा कम तौलका रहेका थिए । सो आर्थिक वर्ष तीन हजार ५४ बालबालिका जन्मिएकामा १०८ जना औसतभन्दा कम तौलका थिए । पोषण नपुगेर तथा खान नजानेर आमा र बच्चाको स्वास्थ्य अबस्था बिग्रिने गरेको खड्काको भनाइ छ ।
खाना नपाएरमात्र होइन, खान नजानेर पनि कुपोषण हुने गर्छ । आमाले अर्गानिकमा भन्दा तयारी(पत्रु) खानामा जोड दिने, पर्याप्त शारीरिक व्यायम नगर्ने, धुमपान गर्ने वा धुमपान गर्नेको संगत गर्ने गरेका कारण कम तौलको बच्चा जन्मन्छन् । जन्मदै कम तौल भएका बच्चाहरूमा कुपोषणलगायत स्वास्थ्य समस्या देखिन्छ । नियमित गर्भ जाँच गर्ने, गर्भवती अवस्थामा आहारबिहारमा ध्यान दिने, स्वास्थ्यमा देखिने कुनैपनि समस्याप्रति गम्भीर दिएमा यस्ता समस्याबाट ग्रसित हुनु पर्दैन ।




