
हाइटेन्सन लाइनको करेण्ट पोलमा किन लाग्छ ?
बुधबार भीमसेनथापा गाउँपालिका ४ धावा चौतारामा एक अति दुखद घटना घट्यो । बारीमा बाख्रा चराउन गएका ७० बर्षका वृद्ध बलराम विकलाई करेण्ट लाग्यो र उनको घटनास्थलमै मृत्यू भयो । हाइटेन्सन लाइनको पोललाई सपोर्ट गर्न बाँधिएको तारमा छुँदा उनलाई करेण्ट लागेको थियो ।
त्यहाँ उनको कुनै पनि गल्ती, लापार्बाही थिएन । तथापि उनले जीवन गुमाउनु प¥यो । किनभने जमिनसम्म आएको खुल्ला तारमा विद्युत आउँछ भन्ने उनीमात्र होइन, कसैलाई पनि कल्पना सम्म हुदैन । यदि जमिनमा गाडिएको तारमा विद्युत आउन पनि सक्छ भन्ने अवधारणा कसैमा हुन्थ्यो भने त्यसलाई पनि इन्सुलेशन गरिन्थ्यो ।
त्यसैले त्यहाँ लापार्बाही थियो त केवल विद्युत प्राधिकरणको । अर्थात हाइटेन्सन लाइनबाट सपोर्ट तारमा विद्युत किन बह्यो ? पोलमा विद्युत किन बह्यो ? पक्कै त्यो हाइटेन्सनको विद्युत सट भएर पोलमा अनि पोलको सपोर्ट तारमा आएको हुनुपर्छ । तार र पोल छोइने वातावरण किन बन्यो ?
मृतकको परिबारलाई राहतको व्यवस्था त पक्कै हुनसक्छ । प्राधिकरणको कोषबाट कसैलाई राहत रकम दिँदा कसैलाई व्यक्तिगत रुपमा नोक्शान पर्दैन । त्यसैले पनि हुनसक्छ यति लापार्बाही गरेको ? अब पिडित परिबारलाई राहत दिएर मात्र हुदैन, गल्ती, कमजोरी गर्ने व्यक्ति पत्ता लगाएर कारबाहीको व्यवस्था पनि हुनुपर्छ । अनि बल्ल आफ्नो काममा सजग र सचेत हुन्छन् ।




